राष्ट्रपति उम्मेदवारको रुपमा ममाथि सबैको भरोसा छ : रामचन्द्र पौडेल

राष्ट्रपति उम्मेदवारको रुपमा ममाथि सबैको भरोसा छ : रामचन्द्र पौडेल : Icon Khabar

काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताएका छन् । बिहीवार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरी सांसदहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सबैको माया पाएको बताए ।

उनले भने , ‘‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ। मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरुलाई विश्वास दिलाउने काम गरिराखेको छु। सबै अत्यन्त सकारात्मक हुनुहुन्छ। तपाईं पुरानो मान्छे भनेर माया गर्छन्। सबै साथीले माया गर्नुहुन्छ। तपाईंमाथि भरोसा छ, तपाईंले अवश्य पनि संविधानको संरक्षण गर्नुहोला भन्छन्।’’

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनी सचेत गराएको बताए । अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दामा राष्ट्रिय एकता गरेर जानुपर्ने बताएको उनको भनाइ छ ।

उनले भने, ‘‘अध्यक्षले हिजोका दिनमा राष्ट्रपतिबाट जुनखालको संविधान मिच्ने कामहरु भयो, राजनीतिक दललाई काखा र पाखा गर्ने जुन व्यवहार भयो त्यो नहोस् भन्नेखालको अपिल प्रधानमन्त्रीज्यूले गर्नुभयो।’’

त्यसैगरी अभिमुखीकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिबद्धता आएकाले समर्थन गरिएको कुरा राखेको सो पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts