सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन

सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन ललितपुर महानगरको निर्देशन : Icon Khabar

काठमाडौँ, फागुन १७ ।  ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन १० दिनको समय दिएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र काट्न निर्देशन दिएको हो।

महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार हटाउन नगर प्रमुखले निर्देशन दिएको हो।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (आइएसपिए) लाई ललितपुर महानगरले जिम्मा दिएको छ। तार व्यवस्थापन गर्न आइएसपिएलाई ललितपुर महानगरले नगर प्रहरीसहित अन्य आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए । अव्यवस्थित तारका कारण शहर कुरुप बनेको उनकाे भनाइ थियो ।

‘नगर र नगरबासीको सुरक्षा पहिलो हो, यी तारले ललितपुरलाई स्मार्ट सिटी बनाउने हाम्रो अभियानलाई बाधा पुर्‍याएको छ,’ महर्जनले भने, ‘१० दिन भित्र तार नहटाए महानगरले नै हटाउने छ ।’ तार हटाउँदा आवश्यक तार पनि काटिन सक्ने तर्फ इंगित गर्दै उनले भने, ‘मेसिन खरिद गरिसक्यौं, आफैं काट्छौं ।’

सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको महर्जनको भनाइ थियो । ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा भेट्न आउने विदेशी पाहुनाले यी असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गर्दा आफूलाई सहज भएको उनले बताए । ललितपुरका मनमोहक सम्पदाका तस्वीर खिज्न खोज्दा अव्यवस्थित तारले तस्वीर खिचन् समेत बाधक बनेको गुनासो आफू समक्ष गरेको तितो अनुभव उनले बैठकमा सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2023
Website | + posts