बालेन्द्रलाई मेट्रोरेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध

ललितपुर महानगर काठमाडौं महानगरको सहयात्री बन्ने प्रतिबद्धता

बालेन्द्रलाई मेट्रोरेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध : Icon Khabar

ललितपुर, फागुन १२ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रोरेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौ महानगर कार्यालय पुगेका महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौं महानगरले मेट्रोरेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘ उपत्यका दुई महानगरबीच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौं ,ललितपुर काठमाडौंको सहयात्री बन्छ, काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ । ’ ललितपुर नगर प्रमुख महर्जनले उपत्यका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएको बताए ।

मेट्रोरेलको विकल्प खोज्नु अब समय र स्रोतसाधनको दुरुपयोगमात्र ठहरिने महानगर प्रमुख महर्जनले प्रष्ट पारे । उनले भने, ‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रोरेलका बारेमा निर्णय नगर्नु किमार्थ ठिक हुँदैन’ काठमाडौं उपत्यकालाई बस्नयोग्य सहर बनाउनका लागि मेट्रोरेल नल्याई सुखै छैन । ’ उनले मेट्रोरेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताउँदै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य सहर बन्ने दाबी महर्जनले गरे । उनले भने, ‘सन्ततिले हामीलाई धिक्कार्छन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रोरेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रोरेलका सन्दर्भमा अब योजनाबद्ध रुपमा छलफल सुरु गर्ने बताए । उनले भने, ‘ अब मेट्रोरेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौं । ’

काठमाडौं महानगरले पनि मेट्रोरेलका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए । उपत्यकाकालाई बस्न योग्य सहर बनाउन मेट्रोरेल अत्यावश्यक भएको प्रष्ट पार्दै यो दीर्घकालिन योजनाले उपत्यकावासीको जीवनस्तर उन्नत हुने उनको भनाई थियो । बालेन्द्रले भने, ‘ योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालिन प्रभाव पार्दैन र नागरिकलाई खुशी र सुख दिन सक्दैन ।’

उपत्यकालाई बस्न योग्य सहर बनाउन सहर बनाउन मेट्रोरेल ल्याउनै पर्ने ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले बताए । उनले भने, ‘उपत्यकाकोे ट्राफिक व्यवस्थापन गर्न तत्काल काम शुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुन्छ, उपत्यका ‘गतिहीन’ सहरमा परिणत हुने कुरा निश्चित छ । ’ न्याछ्योँले २० वर्षदेखि मेट्रोेरेलको आवश्यकता र यसले उपत्यकावासीलाई कसरी समृद्ध बनाउँछ भन्ने सन्दर्भमा पैरवी गर्दै आएका छन् ।

एक तथ्यांक अनुसार ट्राफिक जाममा बित्ने उत्पादक समयको ह्रासले वार्षिक करीब रु. १.६२ खर्बको नोक्सान भएको अनुमान छ । यो तथ्यांक नेपालको ग्राहस्थ उत्पादनको लगभग ५.६ हुन आउँछ । उनले भने, ‘एक वर्षमा हुने नोक्सानबाट नै मेट्रोरेल बन्छ । ’ काठमाडौंं उपत्यकाको वातावरण सुधारसहित व्यवस्थित सहर निर्माणका लागि मेट्रोरेलसहितको एकिकृत यातायात व्यवस्थापनसहित मेट्रोरेल अबको आवश्यकता भएको इन्जिनियर वदनलालको भनाई थिया ।

उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालिन समाधानका लागि नेपाली विज्ञहरुको एक अन्तर्राष्ट्रिय समूह “वृहत काठमाडांै उपत्यका मेट्रोरेल प्रबद्र्धन समूह” केही समयदेखि कार्यरत छ । उक्त समूहको संस्थापकमा डा. विनोद अमात्य (यूके), ई. वदन न्याछ्योँ (नेपाल), डा. पुरु श्रेष्ठ (यूएस), डा. श्रीगोविन्द शाह (नेपाल), ई. अनन्त वैद्य (यूएस), ई सुरेन्द्र जोशी (नेपाल) का साथै अन्य विज्ञहरु पनि हुनुहुन्छ । यो समूहले काठमाडौँ उपत्यका क्षेत्रमा मेट्रोरेल प्रणालीको आधारमा दीर्घकालिन विकास तथा एकिकृत यातायात व्यवस्थापनको विकासको “रणनीतिक अवधारणापत्र” तयार गरेको छ ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन मेट्रोरेलको नेतृत्व गर्न काठमाडौं महानगर प्रमुखबालेन्द्रलाई आफूले लेखेको पत्र र उक्त अवधारणा पत्र सहित पुगेका थिए । मेट्रोरेल ल्याउन झण्डै बीस बर्ष लाग्ने बताइएको छ । त्यसैगरी करीब १८ खर्ब लाग्ने अनुमान गरिएको छ ।l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 February 2023
Website | + posts