भक्तपुर, जेठ ३ । भक्तपुर नगरपालिका वडा नं. १ द्वारा सञ्चालन गरिएको १० दिने निशुल्क उद्घोषण (एमसी) तालिम शनिबार सम्पन्न भएको छ। युवाहरूको सार्वजनिक बोल्ने कला, मञ्च सञ्चालन क्षमता, आत्मविश्वास तथा सञ्चार दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा शनिबार समपन्न भएको हो।
समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै उनले एक सफल उद्घोषक सधैं स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे अद्यावधिक रहनुपर्ने बताएका थिए। “समसामयिक विषय, समाचार र समाजबारे जानकारी राख्ने उद्घोषकलाई श्रोताले रुचाउँछन्,” उनले भने। उनले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीलाई शुभकामना व्यक्त गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे।
कार्यक्रमका अतिथि कृष्ण बहादुर दुगुजुले यस्ता तालिमले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले स्थानीय नागरिकको आवश्यकता र युवापुस्ताको रुचिअनुसार विभिन्न सीपमूलक, व्यक्तित्व विकास तथा व्यवसायिक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विविध कार्यक्रममार्फत स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएको उल्लेख गरे।
उनले युवाहरूलाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा जोड्न नगरपालिकाले समयानुकूल कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उद्घोषण तालिम पनि त्यसैको एक महत्वपूर्ण उदाहरण भएको धारणा व्यक्त गरे। “युवाहरूको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ,” उनले बताए।
तालिममा रेडियो कान्तिपुरका सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता किरण सुवाल प्रशिक्षकका रूपमा रहेका थिए। १० दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई उद्घोषण कला, मञ्च सञ्चालन, प्रभावकारी प्रस्तुति शैली, श्रोतासँग अन्तरक्रिया तथा व्यावसायिक सञ्चारसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले आफ्नो प्रस्तुति समेत दिएका थिए। सहभागीहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा आत्मविश्वास बढाउने खालको भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको सञ्चालन वडा नं. १ शिक्षा समितिका सदस्य लक्ष्मी सुन्दर सुवालले गरेका थिए भने वडासचिव विजय लोहलाले धन्यवाद ज्ञापन गरेका थिए। प्रशिक्षार्थीहरुको तर्फबाट पियुस पक्का र रोशनी हाडाले तालिम अवधिभरका आ आफ्नो अनुभव सुनाएका थिए। प्रमुख अतिथि सुवालद्वारा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रामाण पत्र वितरण गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, स्थानीय बुद्धिजीवीहरुको समेत उपस्थिति रहेको थियो।
Published Date: 17 May 2026