भक्तपुर, वैशाख २४ । भक्तपुर नगरपालिका वडा नं. १ मा आजदेखि १० दिने उद्घोषण (एमसी) तालिम सुरु भएको छ। युवाहरूको सार्वजनिक बोल्ने कला, आत्मविश्वास तथा सञ्चार क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले कार्यक्रम सफल बनाउने महत्वपूर्ण जिम्मेवारी उद्घोषकको हुने बताए। “कार्यक्रममा जति नै राम्रो वक्ता भए पनि कार्यक्रमलाई प्रभावकारी बनाउने वा नबनाउने भूमिका उद्घोषकमै निर्भर हुन्छ,” उनले भने।
उनले पछिल्लो समय उद्घोषण क्षेत्र व्यवसायिक बन्दै गएको उल्लेख गर्दै तालिममा सहभागी युवाहरूले भविष्यमा यसलाई पेशाका रूपमा समेत अघि बढाउन सक्ने धारणा व्यक्त गरे। साथै, भक्तपुर नगरपालिकाले युवामैत्री तथा सीपमूलक विभिन्न व्यवसायिक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।
कार्यक्रमका सभापति तथा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले नगरपालिकाले प्रशासनिक सेवा मात्र नभई वडावासीहरूको क्षमता विकासका लागि विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गरिरहेको बताए। उनले १० दिने उक्त तालिमले सहभागी युवाहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै प्रभावकारी बोल्ने कला विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
तालिममा रेडियो कान्तिपुरका सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता किरण सुवाल प्रशिक्षकका रूपमा रहेका छन्। तालिममार्फत सहभागीहरूलाई मञ्च सञ्चालन, प्रभावकारी प्रस्तुति कला, श्रोतासँगको अन्तरक्रिया तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।
उद्घाटन सत्रको सञ्चालन वडा नं. १ शिक्षा समितिका सदस्य लक्ष्मी सुन्दर सुवालले गरेका थिए भने वडासचिव विजय लोहलाले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा वडा नं. १ का जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले यस्ता तालिमले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सञ्चार दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
Published Date: 07 May 2026