भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक

भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक : Icon Khabar

भक्तपुर, चैत १४ । भक्तपुरमा “नेटिभ पर्यटकसँगको यात्रा” नामक विशेष हेरिटेज वाक कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्थानीय सम्पदा अनुसन्धानकर्ता रूशेल शिल्पकारको संयोजनमा सञ्चालन गरिएको हो।

शिल्पकार “३६५ दिनको भक्तपुर अन्वेषण” नामक एक वर्षे एकल यात्राका कारण परिचित छन्। यस अवधिमा उनले भक्तपुरका लुकेका पक्षहरू खोजी, अभिलेखीकरण तथा पुनःअन्वेषण गरेका थिए।

कार्यक्रमका क्रममा सहभागीहरूलाई प्राचीन मन्दिरहरू, पवित्र नदी किनार, मध्यकालीन किल्लाका अवशेष, साँघुरा गल्लीहरू, लुकेका आँगनहरू, व्यस्त चोकहरू तथा परम्परागत बस्तीहरू अवलोकन गराइएको थियो। सो अन्तर्गत सो वाक भक्तपुरको बाराही पीठबाट सुरू भई भक्तपुर दरबार क्षेत्र, इछु गल्ली, घट्खा, तालाक्व, लाकोलाछें, लैक्व, खलां, चासुखेल, गोल्मढि, इनाचो, दतात्रय, टौमढि स्क्वायर लगायतको ठाउँहरुको अवलोकन गराइएको थियो।

आयोजकका अनुसार, यो कार्यक्रम परम्परागत भ्रमणभन्दा फरक किसिमको रह्यो, जसले सहभागीहरूलाई दैनिक जीवन, सांस्कृतिक तहहरू र सामाजिक अभ्यासहरूलाई नजिकबाट बुझ्न प्रेरित गरेको छ। कार्यक्रममा भक्तपुरमा निर्मित सम्पदाहरु प्राय मास्लोको आत्म-साक्षात्कार (Self-Actualization) सिद्धान्त प्रति दाँजेर हेर्न सकिने कुरा पनि सम्पदा अनुसन्धानकर्ता रूशेल शिल्पकारले जानकारी दिए।

यस वाकले भक्तपुरलाई केवल ऐतिहासिक स्थल मात्र नभई एक जीवित र गतिशील शहरका रूपमा अनुभव गराएको आयोजकको विश्वास छ। सो कार्यक्रममा भक्तपुरकै नेटिभ पर्यटक, सोसियल मिडिया इन्फ़्लुएन्सर, मिडियाकर्मी, विभिन्न संघ संस्थामा आबद्व व्यक्तित्वहरु लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहआयोजकका रूपमा होटल एसोसिएशन अफ भक्तपुर, कला क्रियटिभ्स र मतिना इनिसियटिभ रहेका थिए। सहभागी सबैलाई टौमढिस्थित यम्मी स्क्वायरले जुजु धौ प्रदान गरेको थियो भने वाक सम्पन्न भए पश्चात बज्र बुटिक होटलले खाजाको व्यवस्था गरेको थियो।

Published Date: 28 March 2026