काठमाडौं, कार्तिक ३० । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसका कारण देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली भएको छ। तराईका भूभाग, उपत्यका तथा नदीका खोँचहरूमा धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।
तराईका भूभाग, उपत्यका तथा नदीका खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
Published Date: 16 November 2026