इथियोपियामा ज्वालामुखी विस्फोटन, आकाशमा देखियो धेरै किलोमिटर माथिसम्म खरानीको बादल

इथियोपियामा ज्वालामुखी विस्फोटन, आकाशमा देखियो धेरै किलोमिटर माथिसम्म खरानीको बादल : Icon Khabar

काठमाडौँ, मंसिर १६ । इथियोपियाको हायली गब्बी ज्वालामुखी विस्फोटनका कारण आकाशमा धेरै किलोमिटर माथिसम्म खरानीको बादल देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खरानीको बादल लाल सागर पार गर्दै मध्यपूर्व र मध्य एसियातिर सर्दैछ। जमिनमा भने यसको प्रभाव धेरै महसुस हुने छैन किनभने यो बादल धेरै उचाइमा छ। यो उचाइ भनेको यात्रुवाहक विमान उड्ने उचाइ हो। ज्वालामुखीको खरानीका कारण जहाजको सेन्सर खराब हुन सक्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार यसको प्रभाव समुद्र सतहबाट ८.५ किलोमिटर (५.२ माइल) र १५ किलोमिटरको बीचमा परेको छ। यसले अस्थायी रूपमा उपग्रह र उडान सञ्चालनलाई असर गर्न सक्छ। तर यसले मौसमको अवस्था, वायु गुणस्तर वा जलवायुलाई असर गर्ने सम्भावना छैन। ज्वालामुखीको खरानी सोमबार राति उत्तरी भारतमा पुगेर चीनतिर सर्दै गरेको देखिन्छ।

यसका कारण भारतमा धेरै अन्तर्राष्ट्रिय र घरेलु उडान डिले वा रद्द गरिएका छन्। धेरै उडानहरू पनि डाइभर्ट गरिएका छन्। एयरलाइन्सहरूलाई प्रभावित क्षेत्रबाट बच्न हरसम्भव प्रयास गर्न आग्रह गरिएको छ।

इथियोपियाको विस्फोटपछि उत्पन्न भएको खरानीको असर काठमाडौंसम्म परेको छ । ज्वालामुखीजन्य धुलो र सल्फरयुक्त खरानी दक्षिण एसिया तथा खाडी क्षेत्र हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय उडान मार्गमा फैलिँदा नेपालमा उडान प्रभावित भएका हुन्।

काठमाडौं विमानस्थलका अनुसार त्रिभुवन विमानस्थलमा विदेशी जहाजहरु होल्ड भएर बसेपछि पार्किङ अभाव भएर सिमराको आकाशमा जहाजहरु होल्डमा राख्नुपरेको छ। आज बिहान अवतरण गरेका कतार एयरवेजका दुई वाइडबडी जहाज काठमाडौंमै रोकिएका छन्। पश्चिमी मार्गमा उडान सम्भव नभएको भन्दै जहाज उड्न नसकेका हुन् ।

ज्वालामुखीजन्य खरानीका कारण कोरियन एयरले मंगलबारको काठमाडौं–सियोल उडान रद्द गरेको छ। अन्य विमानहरू पनि समयमा उड्न नसक्दा यात्रा प्रभावित भएको छ।

ज्वालामुखीका कारण विभिन्न देशका विमान नियामक निकायहरूले सुरक्षा चेतावनी जारी गरेका छन्। भारतीय नागरिक उड्डयन महानिर्देशनालयले ज्वालामुखी क्लाउडको बढ्दो जोखिमका कारण एयरलाइन्सलाई प्रभावित क्षेत्रबाट उडान नगर्न तथा वैकल्पिक मार्ग अपनाउन निर्देशन दिएको छ।

खाडी मुलुकतर्फका केही उडान रद्द वा पुनःमार्ग निर्धारण भएको छ। जेद्दा, अबुधाबी र कुवेततर्फका केही उडान स्थगित भएका छन्।

इथियोपियाको उत्तर पूर्वी क्षेत्रमा रहेको हायली गब्बी ज्वालामुखी करिब १२ हजार वर्षको अन्तरालपछि पहिलो पटक विस्फोट भएको हो। ज्वालामुखी आइतबार केही घण्टा विस्फोट भएको थियो। विस्फोटबाट नौ माइलसम्म घना धुँवाको मुस्लो आकाशतिर फैलिएको छ।

Published Date: 02 December 2025








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा