भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित

भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित : Icon Khabar

भक्तपुर, कार्तिक ३० । भक्तपुर नगरपालिका–१० मा पर्ने कालिका डेरीदेखि भत्केपाटीसम्मको सडक खण्ड १० वर्षदेखि खनेर अलपत्र अवस्थामा छाडिएको छ । लामो समयदेखि मर्मत तथा पुनर्निर्माण नहुँदा उक्त सडक अहिले स्थानीय बासिन्दा र सवारी चालकका लागि दुःखको कारण बनेको छ ।

सडकमा ठाँउ–ठाँउमा खाल्डाखुल्डी र असमान सतहका कारण सवारी साधन आवतजावतमा कठिनाइ भएको छ । वर्षाको समयमा सडक हिलाम्य बन्ने र अन्य समयमा धुलो उडेर वातावरण प्रदूषित हुने गरेको स्थानीयले बताएका छन् ।

“धुलोको कारण स्वास्थ्यमा असर पर्न थालेको छ । पसलमा सामान राख्नसमेत गाह्रो छ,” एक स्थानीय व्यापारीले भने, “पानी परेपछि त हिलोमा हिड्नै नसकिने अवस्था हुन्छ ।”

स्थानीयका अनुसार सडकको जीर्ण अवस्थाका कारण यस खण्डमा सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । दैनिक सयौं सवारीसाधन गुड्ने र नगरकोट जाने मुख्य मार्गमा पर्ने यो बाटोको दुरावस्था पर्यटकमैत्री वातावरणका लागि पनि चुनौती बनेको छ ।

यस सडकको मर्मत र पिच गर्ने काम वर्षौंदेखि सुरु नहुँदा जनतामा असन्तुष्टि बढेको छ । सम्बन्धित ठेकेदार, नगरपालिका, वडा कार्यालय र अन्य सरोकारवाला निकायले तत्काल पहल नगरेसम्म समस्या झनै गहिरिने स्थानीयको भनाइ छ ।

दशकौंदेखि अलपत्र अवस्थामा परेको सडकको मर्मत कहिले हुने भन्ने प्रश्नमा स्थानीयले तत्काल समाधानको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 November 2025
Website | + posts