ट्रम्प प्रशासनद्वारा १२ देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक

ट्रम्प प्रशासनद्वारा १२ देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक : Icon Khabar

काठमाडौं, जेठ २३ । ट्रम्प प्रशासनले बुधबार एक घोषणा पत्रमा हस्ताक्षर गर्दै १२ देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ती देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका सीएनबीसीले लेखेको छ ।

राष्ट्रिय सुरक्षालाई आधार बनाउँदै ती देशहरुले अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरुसँग सम्बन्धित सम्भावित सुरक्षा वा आतंकवादी जोखिमको पहिचान गर्न आवश्यक यथोचित जाँच तथा स्क्रिनिङ प्रक्रिया पूरा गर्न नसकेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणा पत्रले थप ७ देशका नागरिकहरुका लागि पनि आंशिकरुपमा प्रवेशमा प्रतिबन्ध लगाएको छ । यी राष्ट्रहरुमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् । घोषणामा उल्लेख गरिएको अन्य मापदण्डहरुमा ती देशहरुको सूचना साझेदारी नीति, आतंकवादीको उपस्थिति, भिसा अवधि नाघ्ने दर, र फिर्ता पठाइएका नागरिकहरुलाई सहजरुपमा स्वीकार्ने तत्परता पनि समावेश छन् ।

यो प्रतिबन्ध सोमबारदेखि लागू हुने बताइएको छ । बुधबार राति ह्वाइट हाउसले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेकै पहिलो दिन उनले परराष्ट्रमन्त्रीलाई उच्च जोखिमयुक्त क्षेत्रहरु को सुरक्षा समीक्षा गर्न निर्देशन दिएको बताएका थिए । सोही आधारमा यात्रा प्रतिबन्धका सिफारिसहरु तयार पारिएका हुन् ।

उक्त भिडियोमा उनले आइतबार कोलोराडोको बाउल्डरमा यहूदी प्रदर्शनकारीहरुमाथि भएको आक्रमणलाई पनि उदाहरणका रुपमा उल्लेख गरेका छन् । उक्त आक्रमणमा आरोपित मोहम्मद साब्री सोलिमान इजिप्टका नागरिक हुन् । तर इजिप्टलाई भने अमेरिकाको यात्रा प्रतिबन्ध सूचीमा समावेश गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2025
Website | + posts