पोखरा आज देशकै प्रदूषित सहर, चितवनको भरतपुर दोस्रो नम्बरमा

पोखरा आज देशकै प्रदूषित सहर, चितवनको भरतपुर दोस्रो नम्बरमा : Icon Khabar

काठमाडौं, माघ ३० । पोखरा आज देशकै प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार पोखराको प्रदूषण १८७ एक्यूआई छ ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतकपुरको १७० एक्यूआई छ ।

भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ । वातावरण विभागका अनुसार खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन् ।

हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो ।

वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।

विश्वभरको वायु प्रदूषण निगरानी गर्दै आइरहेको आईक्यू एअरका अनुसार काठमाडौं पनि विश्वकै सातौं प्रदूषित सहर बनेको छ । विश्वभरको तुलनामा १६१ एक्यूआईसहित काठमाडौं सातौं प्रदूषित सहर बनेको हो ।

आईक्यू एअरका अनुसार भियतनामको हानोई २१३ अंकसहित प्रदूषित सहरको पहिलो नम्बरमा छ । छिमेकी राष्ट्र चीनको वुहान १६३ अंकसहित छैठौं स्थानमा रहँदा भारतको दिल्ली १६० अंकसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2025
Website | + posts