यस वर्षको प्रणय दिवसका लागि पाँच करोड रुपैयाँ बराबरको गुलाब खपत हुने

यस वर्षको प्रणय दिवसका लागि पाँच करोड रुपैयाँ बराबरको गुलाब खपत हुने : Icon Khabar

काठमाडौँ, माघ २७ । यस वर्षको प्रणय दिवस (भ्यालेनटाइन डे) का लागि पाँच करोड रुपियाँ बराबरको गुलाब खपत हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने प्रणय दिवसमा पाँच करोड १० लाख रुपियाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने भएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा प्रणय दिवसलक्षित छिमेकी मुलुक भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको जानकारी दिनुभयो । बजारमा प्रतिस्टिम गुलाबको मूल्य न्यूनतम ९० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको उहाँको भनाइ छ ।

मुलुकमा माग अनुसार उत्पादन नहुँदा बर्सेनि प्रणय दिवसमा ठुलो परिणाममा गुलाब आयात हुने गर्छ । हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्दै गए पनि मुलुकमा पर्याप्त उत्पादन नहुँदा बर्सेनि आयात गर्नु गरेको श्रेष्ठले जानकारी दिए।

एसोसिएसनका अनुसार प्रणय दिवसमा काठमाडौँ उपत्यकामा दुई लाख ५५ हजार स्टिम र एक लाख ७० हजार स्टिम गुलाब उपत्यकाबाहिर खपत हुने गर्छ । गत वर्षको प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाबको फूल खपत भएको समेत एसोसिएसनले जनाएको छ ।

प्रणय दिवसबाहेक सामान्य दिनमा प्रतिदिन आठदेखि १० हजार स्टिम गुलाब फूलको माग हुने गरेको छ । नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ ।

नेपालमा गुलाब फूलको व्यावसायिक खेती चितवन, काभ्रेपलाञ्चोक र रुपन्देही जिल्लामा हुने गरेको छ । फेब्रुअरी महिनामा नेपालमा जाडो सिजन नै रहने भएकाले गुलाब फूलको उत्पादन कम हुने हुँदा आन्तरिक माग पूरा गर्न व्यवसायीले भारतबाट आयात गर्ने गरेका छन् ।

व्यवसायीका अनुसार प्रणय दिवस आउन एक साता बाँकी रहँदा बजारमा गुलाबको फूलको कारोबार बढ्दै गएको छ । शङ्खमुलका व्यापारी सन्दीप थापाले अन्य समयमा फाट्टफुट्ट मात्र बिक्री हुने गरेकामा प्रणय दिवसमा गुलाबको व्यापार दोब्बर तेब्बरले वृद्धि हुने गर्छ ।

विवाह, व्रतबन्धलगायतका पार्टीमा सजाउनका लागि समेत गुलाबको प्रयोग हुने गरेको उहाँको भनाइ छ । प्रणय दिवसमा आफ्ना प्रेमीप्रेमिकालाई गुलाब दिने चलन बढ्दै गएकाले पनि यसको व्यापार बढी हुने उनको भनाइ छ ।

Published Date: 09 February 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी