एक सातामा सुनको मूल्य तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो

एक सातामा सुनको मूल्य तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २६ । एक साताको अवधिमा बजारमा सुनको मूल्य तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार एक लाख ६२ हजार आठ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर साताको अन्तिम दिन शुक्रबार एक लाख ६८ हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य प्रतिऔंस दुई हजार ८६३ अमेरिकी डलर पुगेको छ । यसअघि गत कात्तिक ११ मा प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको सुनको मूल्य पछिल्लो एक सातादेखि निरन्तर बढ्दै गएपछि पहिलेकै मूल्यनजिक पुग्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख ६२ हजार आठ सय रुपियाँ रहेको सुनको मूल्य सोमबार स्थिर रहेर सोही मूल्य कायम भएको थियो ।

यस्तै मङ्गलबार तोलामा एक हजार नौ सय रुपियाँले बढेर एक लाख ६४ हजार सात सय रुपैयाँले मूल्य कायम भएको थियो । बुधबार एकै दिन तोलामा तीन हजार आठ सय रुपियाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

लगातार बढ्दै गएको सुनको मूल्य बिहीबार भने तोलामा एक हजार छ सयले घटेर एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार अघिल्लो दिनको तुलनामा एक हजार दुई सय रुपियाँले बढेर एक लाख ६८ हजार एक सय रुपियाँमा कारोबार भएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । आगामी दिनमा थप सुनको मूल्य बढ्दै जाने बताइएको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नीति परिवर्तन गरेका कारण सुनको मूल्य बढ्दै गएको बताउनुभयो ।

लगानीकर्ताहरू सुनमा लगानी गर्न आकर्षित हुन थालेपछि मूल्य क्रमिक रूपमा बढ्दै गएको उहाँको भनाइ छ । सुनको मूल्य निरन्तर बढ्दा स्थानीय बजारमा कारोबार भने बढ्न नसकेको उहाँको भनाइ छ । लगनको सिजन भए पनि सुनको मूल्य बढेको र बजारमा माग न्यून हुँदा कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।

यसैबिच चाँदीको मूल्य सातामा ७५ रुपियाँले बढेको छ । गत आइतबार प्रतितोला एक हजार ९१० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर एक हजार ९८५ रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2025
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित