बागीश्वरीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बागीश्वरीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, माघ २४ । बागीश्वरी मावि, बागीश्वरी कलेज, बागीश्वरी कलेज अफ म्यानेजमेन्टको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७ औँ र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम बिहीबार एक भव्य कार्यक्रमबिच सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने बताए।

नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको बताउँदै उनले भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैमा विश्वविद्यालयका महत्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको उल्लेख गरे।

कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागीश्वरी कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाण पत्र (क्यु.ए.ए.) प्राप्त गर्ने भक्तपुर जिल्लाको पहिलो सामुदायिक कलेज भएको बताउँदै यससँगै बागीश्वरीमा नयाँ नयाँ विषयहरू अध्ययन अध्यापनको लागि सहजता मिलेको बताए।

नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई भाषिक, साहित्यिक, सांस्कृतिक, प्राविधिकरूपमा दक्ष बनाउनु आजको आवश्यकता भएको बताउँदै सक्षम स्थानीय सरकारलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउँदै शैक्षिक क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने बताए।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बागीश्वरीले समाजलाई सही दिशातर्फ मार्गनिर्देश गरिरहेको बताउँदै भक्तपुर नपाले शिक्षा क्षेत्रमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने दीर्घकालीन उद्देश्यका साथ अगाडि बढिरहेको बताईन्।

बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले एउटै छानामुनि तीनवटा शैक्षिक संस्था सञ्चालन गरी बागीश्वरी सामूहिक नेतृत्वमा विश्वास राख्ने संस्था भएको बताए । भक्तपुर नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थाहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै उनले भक्तपुर शैक्षिक गन्तव्यस्थलको रूपमा विकास भइरहेको बताए।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले विद्यालय शिक्षाको दायित्व सङ्घ सरकारले बहन गर्नुपर्ने बताउँदै विद्यार्थी सङ्ख्या, विषयवस्तुको आधारमा शिक्षक दरबन्दी कायम गर्नुपर्ने बताए।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाउन बागीश्वरीको महत्वपूर्ण भूमिका रहेको बताउँदै बागीश्वरीबाट उत्पादित विद्यार्थीले समाज, देश र विश्वलाई गरेको योगदानले यहाँको शैक्षिक गुणस्तरको मापन भइरहेको बताए।

कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे।

कार्यक्रममा वार्षिकोत्सवका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने बागीश्वरी पूर्वविद्यार्थी समाजका रत्नप्रसाद प्रजापति, विद्यार्थी प्रतिनिधिहरू मनोज कुटुवा, सगुन धन्छा, काजल थापाले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले बागीश्वरी स्मारिका विमोचन गर्नुभएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार वितरण, सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2025
Website | + posts