आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यहरु गरी मनाइदै

आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यहरु गरी मनाइदै : Icon Khabar

काठमाडौं, माघ २२ । आज विश्व क्यान्सर दिवस। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यहरु गरी मनाइदैछ। क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन्। सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताए। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताए।

‘क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन्। तर त्यसो होइन, क्यान्सर लाग्यो भन्दैमा डराउने, आत्तिने गर्नु हुँदैन’, उनले भने, ‘यो रोगबारे बुझाइ, समाजमा गरिएको नकारात्मक चित्रणले गर्दा त्रास बढेको हो। थाइराइड, उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घ रोग हो। क्यान्सरको समयमा पहिचान भएर उपचार हुनसक्यो भने निर्मूल पार्न सकिन्छ।’

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राखे। उनले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिए। ‘क्यान्सरका पहिलो र दोस्रो चरणका बिरामी धेरैजसोको उपचार सफल भएर फर्किएका छन्’, उनले भने, ‘तेस्रो र चौँथो चरणको उपचार गरेका बिरामीको फेरि रोग बल्झेर आउने सम्भावना रहन्छ। ती बिरामीलाई भने केही जोखिम कायम नै रहन्छ।’

निर्देशक डा. चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। क्यान्सरको उपचारमा नेपाल विश्वको तुलना सस्तो रहेको बताउँदै उनले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने विचार राखे। उनले सरकारी अस्पतालमा रु ४० देखि रु ५० हजारसम्ममा क्यान्सरको शल्यक्रिया हुने जनाउँदै त्यही उपचार निजी अस्पतालमा गर्दा रु पाँच लाखसम्म लाग्ने बताए।

Published Date: 04 February 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता