भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ

भक्तपुरमा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ : Icon Khabar

भक्तपुर, माघ ५ । भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम शनिबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार ऊर्जा, जल तथा सिंचाइ मन्त्री दिपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सङ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र नेपाल टुरिजम बोर्डका सीईओ दिपकराज जोशीले संयुक्त रुपमा चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२५ को औपचारिक ब्यानर अनावरण गरी महोत्सव शुभारम्भ गरे।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खड्काले ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रमको विशेष महत्व रहेको बताउँदै नेपाल—चीन बीचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा उपत्यकाका विभिन्न ठाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु तय भएको बताए।

उनले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको बताए।

मन्त्री खड्काले कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको बताउँदै नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे।

मन्त्री खड्काले नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको अपार महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए।

पर्यटन विकासका लागि त्यस अनुकूल कानुन र नीतिहरु तर्जुमा हुँदै आएकाको बताउँदै उनले प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको बताए।

मन्त्री खड्काले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुर निर्माण तथा स्तरोन्नतिका कामहरु भइरहेकाको अवगत गराउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार कार्यहरु भइरहेको जानकारी गराए।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ को बधाई एवम् शुभकामना व्यक्त गरे।

नयाँ युगको आगमनसँगै नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको र सोही सहमति कार्यान्वयनको सिलसिलामा यस महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताए।

सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै राजदूत सङले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने बताए। यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान र सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने गर्ने विश्वास उनले व्यक्त गरे।

नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ उद्घाटन गर्नुको मुख्य उद्देश्य रहेको राजदूत सङले स्पष्ट पारे।

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताउँदै उनले यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्षसफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए।

‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक र्याली आयोजना र महोत्सवमा सहभागी कलाकारहरुसँग सामूहिक फोटो सेसन गरी कार्यक्रमको समापन गरिएको थियो । – साभार: भक्तपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 January 2025
Website | + posts