एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै : Icon Khabar

काठमाडौँ, कार्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (बिहीबार) दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेको लुम्बिनी लगातार चौथो जितको लक्ष्यसहित मैदान उत्रनेछ। तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्क जोडेको छ। टोली हाल अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

यता, जनकपुर बोल्ट्स भने तेस्रो जितको खोजीमा हुनेछ। चार खेलबाट दुई जित र दुई हारसहित चार अङ्क जोडेको जनकपुर तालिकाको चौथो स्थानमा छ। समान चार अङ्क भए पनि रनरेटका आधारमा कर्णाली याक्स र विराटनगर किंग्स जनकपुरभन्दा अगाडि छन्। जनकपुरले आज प्रतियोगिताको पाँचौँ खेल खेल्दैछ।

यी दुई टोलीबीच एनपीएलमा यसअघि भएका खेलको नतिजा १–१ को बराबरीमा रहेकाले आजको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

यसैगरी, आजको दोस्रो खेलमा साँझ ५ बजे काठमाडौं गोर्खाज र विराटनगर किंग्स भिड्नेछन्। दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोर्दै दुई अङ्क जोडेको छ। टोली हाल अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। त्यसैले काठमाडौंका लागि आजको खेल तालिकामा आफ्नो स्थिति सुधार गर्ने महत्वपूर्ण अवसर हुनेछ।

अर्कोतर्फ, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स भने बलियो स्थितिमा देखिएको छ। चार खेलबाट दुई जित र दुई हारसहित चार अङ्क जोडेको विराटनगर तालिकाको दोस्रो स्थानमा छ। विराटनगर आज तेस्रो जित निकाल्दै शीर्ष स्थानतर्फ अघि बढ्ने लक्ष्यमा हुनेछ।

एनपीएलमा यसअघि भएको भेटमा विराटनगरले काठमाडौंलाई पराजित गरेको थियो। उक्त नतिजालाई निरन्तरता दिने लक्ष्यमा विराटनगर रहँदा काठमाडौं भने पुरानो हारको बदला लिने प्रयासमा हुनेछ।

आजका दुवै खेलले अङ्क तालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले क्रिकेटप्रेमीका लागि बिहीबारको प्रतिस्पर्धा विशेष रहने देखिन्छ।

Published Date: 05 November 2026
Website | + posts




















ताजा
सीमापारिको स्वर, नेपाली मनकी प्रिय गायिका : साधना सरगम
सात वर्षदेखि नेपालको पर्यटन क्षेत्र ठप्पजस्तै, २०१९ कै पर्यटक आगमनको रेकर्ड तोड्न चुनौती
एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै
राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गर्दै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक