भक्तपुरको बालकोटमा बाबु–छोरा मृत फेला, बाबु हुलाकका कर्मचारी

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत फेला, बाबु हुलाकका कर्मचारी : Icon Khabar

काठमाडौं, पुस ८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा बाबु–छोरा मृत भेटिएका छन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण रहेका छन् । मृत भेटिएका कुलप्रसाद भने हुलाकका कर्मचारी रहेको खुलेको छ ।

उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए । उनका अनुसार बाबु खोटाङबाट केही दिनअघि हुलाक विभागमा काम परेको भन्दै काठमाडौं आएका थिए ।

उनका दुई छोरा मिलन र प्रविण भने कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । विगत तीन वर्षदेखि दुई वटा कोठा भाडामा लिएर उनीहरू अध्ययन गर्दै आएका थिए । काठमाडौं आएका कुलप्रसाद पनि आफ्ना छोराहरूको कोठामा पुगेका थिए ।

गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर सुतेका थिए । उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।

कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका हुन् । डीएसपी नेउपानेका अनुसार बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट छ । एउटै प्रकृतिबाट हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यता शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । घटनास्थलमा मुचुल्काको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 December 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू