भक्तपुरको बालकोटमा बाबु–छोरा मृत फेला, बाबु हुलाकका कर्मचारी

भक्तपुरको बालकोटमा बाबु–छोरा मृत फेला, बाबु हुलाकका कर्मचारी : Icon Khabar

काठमाडौं, पुस ८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटको एकघरमा बाबु–छोरा मृत भेटिएका छन् ।

मृत भेटिनेमा खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण रहेका छन् । मृत भेटिएका कुलप्रसाद भने हुलाकका कर्मचारी रहेको खुलेको छ ।

उनी जिल्ला हुलाक कार्यालय दिक्तेल खोटाङमा कार्यरत नासु रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए । उनका अनुसार बाबु खोटाङबाट केही दिनअघि हुलाक विभागमा काम परेको भन्दै काठमाडौं आएका थिए ।

उनका दुई छोरा मिलन र प्रविण भने कोठा भाडामा लिएर बालकोटमा बस्दै आएका थिए । विगत तीन वर्षदेखि दुई वटा कोठा भाडामा लिएर उनीहरू अध्ययन गर्दै आएका थिए । काठमाडौं आएका कुलप्रसाद पनि आफ्ना छोराहरूको कोठामा पुगेका थिए ।

गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर सुतेका थिए । उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए । शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो ।

कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए । तर आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका हुन् । डीएसपी नेउपानेका अनुसार बाबुछोरा दुवैको टाउकोमा गम्भीर चोट छ । एउटै प्रकृतिबाट हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यता शनिबार उनीहरूसँगै सुतेका जेठा छोरा मिलन भने सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी सुरु गरेको छ । घटनास्थलमा मुचुल्काको काम भइरहेको प्रहरीले जनाएको छ ।

Published Date: 23 December 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर