मुलुकको आर्थिक स्थिति सुधारोन्मुख

मुलुकको आर्थिक स्थिति सुधारोन्मुख : Icon Khabar

काठमाडौं, माघ २४। कोभिड महामारीको असर एवम् लगत्तै शुरु भएको रुस युक्रेन युद्धको असर स्वरुप गत आवमा नेपालको बाह्य अवस्था एकदमै खराब अवस्थामा थियो । अघिल्लो आवदेखि लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनादेखि भने लगातार सकात्मक रहेको छ । शोधनान्तर स्थिति भनेको नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको वास्तविक तथ्यांक हो । राष्ट्र बैंकको चालु आवको पछिल्लो छ महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर अवस्था क्रमशः सुधार हुँदै गएको छ । चालु आवको पहिलो महिना २२ अर्ब ६३ करोड रुपैयाँ, दोस्रो महिना २३ अर्ब ६८ करोड रुपैयाँले नकारात्मक रहेकोमा तेस्रो महिनादेखि सकारात्मक हुन थालेको हो । असोज महिनामा १२ अर्ब ४३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर अवस्था कात्तिकसम्ममा आइपुग्दा २० अर्ब ३ करोड रुपैयाँ र मंसिर महिनासम्म पुग्दा ४५ अर्ब ८४ करोड रुपैयाँले सकारात्मक हुन पुगेको हो । चालु आवको पुससम्म शोधनान्तर अवस्था झन्डै १ खर्ब रुपैयाँ पुगेको छ। यसले नेपालको बाह्य अवस्था विस्तारै सुध्रिदै गएको संकेत गर्दछ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि एवम् सरकारले विगत केही महिनादेखि सवारीसाधन, मदिरा, मोबाइललगायतका वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको हो । बजारमा मन्दीको असरस्वरुप सामानको माग नहुँदा आयात व्यापार समेत २०.७ प्रतिशतले घटेको छ ।

नेपालले रेमिट्यान्स आप्रवाहका लागि गरेको विभिन्न प्रयासमध्ये वैदेशिक रोजगारमा गएका कामदारलाई आइपीओमा कोटा छुट्याउने नीति पनि एक हुन सक्दछ । आइपीओ कोटाले गर्दा समेत रेमिट्यान्स बढ्न सघाउ पुगेको अर्थविद्को दाबी छ । चालु आवको पुससम्म आइपुग्दा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ भने मासिक रुपमा पुसमा मात्रै सबैभन्दा बढी १ सय ४ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

छैठौ महिनासम्म आइपुग्दा देशको कुल विदेशी मुद्रा सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । देशमा विद्यमान मुद्रा सञ्चितिले ९.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। पुस महिनादेखि लागु हुने गरी सरकारले मोबाइल, मोटरसाइकल, मोटर र मदिराको आयात खुला गरेको थियो । यसका बाबजुद पनि पुस महिनामा विदेशी मुद्रा सञ्चितिमा बढेकाे छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा अघिल्लो महिनाभन्दा विदेशी मुद्रा सञ्चिति ४८ करोडले बढेको छ ।

आयातको २०.७ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत ३२ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा २०.७ प्रतिशतले खुम्चेर ७ खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलर हरेक दिन बलियो हुँदै जाँदा चालु आवको पहिलो महिनामा रेमिट्यान्स पनि बढेको देखिएको छ । देशमा साउनमा ९२ अर्ब २१ करोड, भदाैंमा ९४ अर्ब २१ करोड, असोजमा पनि ९४ अर्ब १ करोड, कार्तिकमा ९६ करोड ९९ लाख रुपैयाँ, मंसीरमा १ खर्ब २ अर्ब ४६ करोड र पुस महिनामा १ खर्ब ४ अर्ब ५७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । पुस महिनाको रेमिट्यान्सको वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको भन्दा २४.३ प्रतिशतले बढी हो ।

पुस महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट २८ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर ५१ अर्ब ४५ करोड खर्च गरेका छन् । नेपालको खुद सेवा आय ३१ अर्ब २७ करोडले घाटामा रहेको छ ।

पुस महिनामा आयात व्यापारमा कमी आएर खुद व्यापार घाटामा कमी आउनु एवम् रेमिट्यान्स आप्रवाहमा समेत सुधार देखिदा देशको शोधनान्तर स्थिति नाफामा गएको छ । बजारमा माग नभएर आयात घट्दै जाँदा र रेमिट्यान्स आप्रवाहमा वृद्धि हुँदा शोधनान्तर स्थिति नाफामा देखिनु सकारात्मक देखिए पनि आगामी दिनमा वैदेशिक मुद्रा सञ्चिति बढाउने दिशामा सचेत रहनुपर्ने सुझाव अर्थविद्हरुले दिएका छन् । देशले अहिलेको तरलता संकटको समयमा विदेशबाट धेरै भन्दा धेरै लगानी भित्रयाउनु पर्नेमा चालु आवको ६ महिनासम्म ७४ करोड ९४ लाख रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ । सरकारले मोबाइल, मोटरसाइकल, मदिरालगायतका वस्तु खुला गर्दा पनि विदेशी मुद्रा सञ्चितिमा सुधार हुनुका साथै शोधनान्तर अवस्था सकारात्मक नै देखिएकाले अर्थतन्त्र सुधारोन्मुख नै देखिएका संकेतकाे रुपमा यसलाई लिनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2023
Website | + posts