बाढीले क्षतिग्रस्त बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

बाढीले क्षतिग्रस्त बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै : Icon Khabar

काभ्रेपलाञ्चोक, असोज १७ । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरु गरेको हो । रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ । सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए । “हिजोदेखि काम थालिसकेका छौं, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौं”, उनले भने ।

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ । बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए ।

अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए । उनीहरुलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ ।
उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो । सडक डिभिजन भक्तपुरले मंलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत सुरु गरेको हो ।

पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ । भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ ।

डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छभने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मंगलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ ।

हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ ।

राजमार्गको कुल एक सय ६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत थियो । सो रकम हालको मूल्यांकन अनुसार ५० करोडभन्दा माथि हो । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्यांकन प्रारम्भिक अनुमान दुई अर्बभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए ।

बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ ।
जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2024
Website | + posts








ताजा
सर्वोच्च अदालत आजदेखि बिदा भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने
‘धूम’ को सिक्वेल ‘धूम–४’ मा रणबीर कपूर खलनायकको भूमिकामा देखिने
बाढीले क्षतिग्रस्त बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान पुन: एक साथ, ’यो जुनी यस्तै भो’ गीतको भिडियो सार्वजनिक






ट्रेन्डिङ
ललितपुरमा विद्यार्थी बोकेर गुडिरहेको माइक्रोमाथि बजारियो बिजुलीको पोल
भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन्
भोटेकोशीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव सुनकोशीमा फेला
काठमाडौं सुन्दरीजलमा युवतीको शव फेला