दशैंमा घर जान करिब ३० हजार यात्रुले लिए बसको अग्रिम टिकट

दशैंमा घर जान करिब ३० हजार यात्रुले लिए बसको अग्रिम टिकट : Icon Khabar

काठमाडौँ, असोज १४ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो ।

सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्य स्थलमा लैजान महासङ्घ लागिपरेको बताए। वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधन क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ । – रासस

Published Date: 30 September 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना
आज बुधबारको राशिफल
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी