चिनियाँ सहर साङ्घाईमा आँधीले निम्त्यायो बाढी

चिनियाँ सहर साङ्घाईमा आँधीले निम्त्यायो बाढी : Icon Khabar

साङ्घाई, असोज ४ । पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ ।

पुलासन आँधी बिहीबार राती साङ्घाईको फेङ्जियान जिल्लामा २३ मिटर प्रतिसेकेन्ड (८३ किलोमिटर प्रतिघण्टा) को वेगमा अवतरण गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

सिन्ह्वाले आँधी स्थलतर्फ अघि बढ्दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको बताएको छ । यद्यपि शुक्रबार बिहान पनि वर्षा भइरहेको छ ।

शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा साङ्घाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिन्छ । यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहतको समाचार छैन ।

साङ्घाईका केही क्षेत्रले आँधी नजिकिँदै गर्दा बिहीबार आफ्नो चेतावनी स्तरलाई बढाएका थिए ।

बेबिनकाले सोमबार विध्वंश मच्चाएको केही दिनपछि पुलासन आँधी आएको हो । बेबिनका सन् १९४९ पछि साङ्घाईमा आएको सबैभन्दा शक्तिशाली आँधी थियो ।

बेबिनका आँधीबाट एक हजार आठ सयभन्दा बढी रुख ढलेका थिए भने ३० हजारभन्दा बढी घरमा विद्युत् काटिएको थियो । अधिकारीहरूले आँधी आउनुअघि साङ्घाईभर चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए ।

हरितगृह ग्यासहरूको उत्सर्जनका कारण जलवायु परिवर्तन हुँदा अत्यधिक मौसमी घटनाहरूलाई धेरै पटक र तीव्र बनाउँदै लगेको वैज्ञानिकहरूले बताएका छन् ।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो । यद्यपि यस मुलुकको प्रतिव्यक्ति उत्सर्जन प्रतिद्वन्द्वी आर्थिक शक्ति संयुक्त राज्य अमेरिकाको तुलनामा कम छ । – रासस/एएफपी

Published Date: 20 September 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय