बालबालिकालाई दैनिक एउटा अण्डा खुवाउँदा बढ्छ स्वस्थ उचाइ

बालबालिकालाई दैनिक एउटा अण्डा खुवाउँदा बढ्छ स्वस्थ उचाइ : Icon Khabar

काठमाडौँ, भदौ ३१ । एउटा अध्ययनले दैनिक एउटा अण्डा खाँदा कुपोषणग्रस्त नवजात शिशुलाई स्वस्थ उचाइ हासिल गर्न सहयोग गर्ने देखाएको छ। इक्वेडरमा ६ महिनासम्म गरिएको अध्ययनपछि यस्तो नतिजा सार्वजनिक गरिएको हो।

उसिनिनेको, फ्राइ गरिएको वा अम्लेट बनाएर खाइने अण्डाले कलिला बालबालिकालाई शक्ति दिने उक्त अध्ययनको निचोड छ।

‘पेडिएट्रिक्स’ नामक जर्नलमा प्रकाशित एउटा लेखमा अण्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सस्तो विधि हुनसक्ने उल्लेख गरिएको छ।

शिशुहरुको पहिलो दुई वर्ष उनीहरुको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यसबेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच वर्षमुनिका १५ करोड ५० लाख बालिबालिकामा होचोपनको समस्या छ।

त्यसमध्ये अधिकांश कमजोर आय तथा मध्यम आय भएका देशमा बसोबास गर्छन्। स्वास्थ्य विज्ञहरुले यो समस्या कसरी समाधान गर्ने भन्नेबारे अध्ययनहरु गरिरहेका छन्।

लोरा इयान्नोटी र उनका सहकर्मीहरुले इक्वेडरको ग्रामीण पहाडी क्षेत्रमा ६ देखि ९ महिनाका शिशुलाई नि:शुल्क अण्डा बाँडेर खान दिएपछि उनीहरुमा केही सुधार देखिन्छ कि भनेर स्थलगत अनुसन्धान गरेका थिए।

खानामा अन्डा
अनुसन्धानका लागि छनोट गरिएका एक सय ६० जना शिशुमध्ये केहीलाई ६ महिनासम्म दैनिक एउटा अण्डा खान दिइएको थियो र उनीहरुको तुलना अण्डानदिइएका अरु शिशुहरुसँग गरिएको थियो।

अनुसन्धानकर्ताहरुले अण्डा खाने बालबालिकाका परिवारलाई प्रत्येक हप्ता भेटेर आफ्नो योजनाको पालना भइरहेको र अण्डाले स्वास्थ्यमा कुनै नकारात्मक असर गरे, नगरेको जानकारी लिएका थिए।

अध्ययन सकिँदासम्म अण्डा खाने शिशुहरुमा नखानेको तुलनामा ४७ प्रतिशतले होचोपनको समस्या कम देखिएको अनुसन्धानकर्ताहरुको दाबी छ।

अनुसन्धान शुरु गर्दाको बेला अण्डा खान छनौट गरिएका धेरै शिशुमा उनीहरुको उमेर अनुसारको उपयुक्त उचाइ थिएन।

प्रमुख अनुसन्धानकर्ता लोरा इयान्नोटी भन्छिन्, ‘अण्डा खान दिँदा त्यसले शिशुहरुमा पारेको प्रभावले हामीलाई आश्चर्यचकित बनाएको छ। भोकमरी र कूपोषणबाट पीडित जनताका लागि यो उपाय निकै उपयोगी र सजिलो हुनसक्छ।’ उनले सानो पेट भएका कम उमेरका बालबालिकाका लागि अण्डा एकदमै उपयुक्त आहारा भएको बताइन्। भन्छिन्, ‘अण्डामा विभिन्न पोषण तत्वहरुको मिश्रण हुन्छ, त्यही भएर यो निकै महत्वपूर्ण छ।’

रोयल कलेज अफ पेडिएट्रिक्स एन्ड चाइल्ड हेल्थकी पोषणसम्बन्धी प्रमुख प्रा. मेरी फ्युट्रेल भन्छिन्, ‘यस विषयमा धेरै अध्ययन नहुनु आश्चर्यको विषय हो। तर, केही संस्कृतिहरुमा कम उमेरका बालबालिकालाई अण्डा खुवाउनु गलत मानिन्छ र त्यसले बालबालिकामा एलर्जीजस्ता समस्या निम्त्याउन सक्ने ठानिन्छ।’ उनले शिशुहरु चार महिनाको भइसकेपछि मात्रै अण्डासहितका अन्य पोषणयुक्त खानेकुरा खुवाइनुपर्ने सल्लाह दिएकी छन्। सम्भावित जोखिम रोक्न कलिला शिशुलाई खुवाइने अण्डा राम्ररी पकाइएको हुनुपर्ने उनको तर्क छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 September 2024
Website | + posts