चीनको आर्थिक मन्दीको कारण विश्वव्यापी तेलको माग न्यून

चीनको आर्थिक मन्दीको कारण विश्वव्यापी तेलको माग न्यून : Icon Khabar

पेरिस, भदौ २७ । चीनको आर्थिक मन्दीको कारण सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्ममा विश्वव्यापी तेलको माग सबैभन्दा सुस्त गतिमा बढेको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले बिहीबार जनाएको छ ।

सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा यो माग प्रतिदिन आठ लाख ब्यारेलमा पुगेको आइइएले आफ्नो मासिक तेल बजारको प्रतिवेदनमा जनाएको छ ।

मन्दीको मुख्य कारण सुस्त भएको चिनियाँ अर्थतन्त्रमा जुलाईमा लगातार चौथो महिनाको लागि उपभोग दरमा सङ्कुचित आएको आइइएले जनाएको छ ।

विश्वको शीर्ष उपभोक्ता र तेलको आयातकर्तामध्ये एक विश्वको दोस्रो ठुलो अर्थतन्त्र, चीन कमजोर उपभोक्ता खर्च, घरजग्गा कारोबारमा आएको सङ्कट र उच्च बेरोजगारीको बिचमा सङ्घर्ष गरिरहेको छ ।

जीवावशेष इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चीनको नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आइइएले जनाएको छ ।

विद्युतीय सवारीको बढ्दो बिक्रीले सडक सवारीका लागि खर्च हुने इन्धनको माग घट्दा उच्च गतिको रेल सञ्जाल विकासले चीनको घरेलु हवाई यात्रालाई सीमित गरिरहेको आइइएले जनाएको छ ।

विश्वव्यापी तेलको माग औसतमा नौ लाख ब्यारेल प्रतिदिनले बढ्ने पूर्वानुमान गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा करिब ७० हजार ब्यारेल प्रतिदिनले कम हो ।

यसले कुल माग लगभग १० करोड ३० लाखमा झार्छ । ‘ग्लोबल इकोनोमिक आउटलुक’ले यस वर्ष तेलको मूल्य घट्ने निष्कर्ष निकालेको छ ।

यस हप्ता, अन्तर्राष्ट्रिय मापदण्डअनुसार ब्रेन्ट नर्थ सीबाट प्रशोधन हुने इन्धन डिसेम्बर २०२१ पछि पहिलो पटक प्रति ब्यारेल ७० डलरभन्दा तल झरेको छ ।

मूल्यमा आएको गिरावटले साउदी अरब र रूससहित तेल उत्पादन तथा प्रशोधन गर्ने राष्ट्रहरूको ओपेक समूहले प्रमुख सदस्यहरूलाई नियोजित उत्पादन वृद्धि स्थगित गरी यसको सट्टा नोभेम्बरको अन्त्यसम्म स्वैच्छिक आपूर्ति कटौती विस्तार गर्न प्रेरित गरेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा विभागले अर्को वर्षका लागि मागको सम्भावनाको थप मूल्याङ्कन गर्न केही समय लाग्ने बताएको छ ।

तर गैर–ओपेक राष्ट्रहरूबाट आपूर्तिमा समग्र मागभन्दा छिटो बढ्दै जाँदा, समूहले यसको अतिरिक्त प्रतिबन्धहरू कायम रहेता पनि पर्याप्त अभिशेषतिर हेरिरहेको हुनसक्ने जनाइएको छ । – रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2024
Website | + posts