बुद्ध एयरकाे एटीआर–४२ विमानले व्यवसायिक उडानबाट लियो ‘बिदा’,

विमानलाई दिइयो पानीको फोहोराले सलामी

बुद्ध एयरकाे एटीआर–४२ विमानले व्यवसायिक उडानबाट लियो ‘बिदा’, : Icon Khabar

काठमाडौँ, भदौ २५ । बुद्ध एयरकाे एटीआर–४२ विमानले व्यवसायिक उडानबाट ‘बिदा’ लिएको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको उक्त विमानले मंगलबार बिहानदेखि उडान सधैँका लागि बन्द गरेकाे हाे।

उक्त विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप विदा गरिएकाे हाे । आज बिहान अन्तिम पटक माउन्टेन फ्लाइट गरेकाे उक्त विमानलाई पानीको फोहोराले सलामी दिइएकाे थियाे । हिजाे मात्र यस विमानले १४ वटा आन्तरिक उडान गरेको थियो।

आज यस विमानले एटीआरको सिंगापुरका क्षेत्रीय कार्यालयबाट आएका दुई प्रतिनिधि, बुद्ध एयरलाई ऋण सहायतामा सघाउने केही बैंकर लगायतका १७ जना यात्रु लिएर अन्तिम उडान भरेकाे थियाे ।

आन्तरिक उडानमा बुद्ध एयरले सन् २००८ मा पहिलाे एटीआर–४२ विमान नेपालमा भित्राएकाे थियाे । एटीआर–४२ले नेपालमा सेप्टेम्बर १७ मा पहिलाे पटक माउन्टेन फ्लाइटबाट व्यवसायिक उडानकाे सुरूवात गरेकाे थियाे । यस विमानले हालसम्म १८ लाख भन्दा बढी यात्रुलाई सेवा दिएकाे छ ।

त्यसपछि, १६ वर्षदेखि नेपालकाे आन्तरिक गन्तव्यहरूमा याे विमान उडिरहेको थियाे । बुद्ध एयरले ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ दर्ता भएको एटीआर विमानलाई बिदा गरेको हो । ७० हजार उडान साइकल पूरा भएपछि याे विमानकाे उडान बन्द गराइएकाे हाे । यो विमानको अझै १७ वटा साइकल बाँकी थियो । उडानकाे भाषा अनुसार एउटा टेकअफ र एउटा ल्यान्डिङलाई एक साइकल मानिन्छ ।

याे विमान नेपालमा बुद्ध एयरले किनेर भित्राउने समयमा ३० हजार हाराहारी साइकल विदेशमा उडिसकेको थियाे । यसअघि, सन् १९९७ डिसेम्बर २८बाट उडान भर्न थालेकाे थियाे ।

एटीआरको नियम अनुसार ७० हजार उडान साइकल पूरा भएपछि टर्बोप्रप एटीआर विमानको ल्यान्डिङ गियर, इन्जिन, ककपिटमा जडान भएका यन्त्र उपकरणबाहेक विमानको मुख्य शरीर वा ढाँचा फ्युसलाजलाई व्यवसायिक उडानमा प्रयोग गर्न पाइँदैन । साेहि नियम अनुसार याे विमानकाे उडान आजदेखि ठप्प पारिएकाे हाे ।

हाल यस विमानलाई बुद्ध एयरको ह्यांगरमा राखिएको छ । अब भने यो विमानको दर्ता खारेजी गरिने भएकाे छ । यसकासाथै, एटीआर–४२ मा प्रयोग गरिएका काम लाग्ने उपकरणहरू निकालिनेछ । त्यसपछि, नागरिक उड्डयन प्राधिकरणलाई खोक्रो ढाँचा अभ्यासका लागि दिइने भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
Published Date: 10 September 2024
Website | + posts