भक्तपुरमा बाढी बस्तीमा पसेपछि ३० घर डुबानमा

भक्तपुरमा बाढी बस्तीमा पसेपछि ३० घर डुबानमा : Icon Khabar

भक्तपुर, साउन १५ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका-५ दधिकोटस्थित गडेधारा टोलका करिब ३० घर डुबानमा परेका छन् । गएराति परेको भीषण वर्षाका कारण स्थानीय ढुङ्ग्रेखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयको ३० लाखभन्दा बढी क्षति भएको छ ।

मध्यरातिदेखि बस्तीमा पानी पसेपछि अधिकांश घरको भुइँतलाभित्र पसेको पानी चार फिटसम्म पुगेपछि मध्यराति धेरैको बिचल्ली भएको थियो । घरको भुइँतलाका भान्सादेखि शयन कक्षसमेतमा पानी पसेपछि लत्ताकपडा, खाद्यान्न, ओछ्यान र इलेक्ट्रिक सामानमा क्षति पुगेको छ । साथै टोलमा रहेको नौवटा गाडी र २० भन्दा बढी मोटरसाइकल पूरै डुबेर क्षति पुगेको छ ।

स्थानीय समाजसेवी अनिता पाण्डेले खोलाको बाढी बस्तीमा पस्दा करिब ३० घरका सामानमा क्षति पुगेको बताए । उनले घरमा रहेका गाडी, मोटरसाइकल र अन्य समानहरूमा क्षति पुगेको तथा लाखौँको क्षति पुगेको बताए । स्थानीय कला थापाले परिवार मध्यराति कोठामा पानी परेर झ्यालको उचाइसम्म पुगेपछि सानो बच्चा च्यापेर कौसीमा गएर बस्नुपरेको बताए।

यस क्षेत्रमा बस्ती बढेको र खोला साँघुरिएपछि हरेक वर्ष पानी बस्तीमा पस्ने गरे पनि यस वर्ष धेरै पानी पसेर पहिलो पटक धेरै क्षति पुर्‍याएको हो । कतिपयलाई खाने र राति सुत्ने सामानको अभाव भएको छ । स्थानीय वडा कार्यालयका केही जनप्रतिनिधि र केही नेता आज बिहान आएर अवस्थाको निरीक्षण गरेर गए पनि स्थानीय भने खोलामा कोरिडोर निर्माण नगरिदिँदा समस्या आएको भन्दै आक्रोशित बनेका थिए । पाण्डेले स्थानीयले खोलामा कोरिडोर बनाउन वर्षौँदेखि माग गरे पनि जनप्रतिनिधिले चासो नदिएको भन्दै स्थानीय आक्रोशित बनेको बताए।

खोलामा जमेको माटो हटाएर सम्भावित जोखिम कम गर्ने भनिए पनि तीन तहकै सरकारले दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्नुपर्ने उनले बताए। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले सोही स्थानमा खोलाको पर्खाल भत्किएको र एक खाद्य कम्पनीमा क्षति पुगेको बताए । उनले बस्तीमा पानी पसेको जानकारी आएपछि विभिन्न ठाउँमा क्षतिको विवरण लिन प्रहरी परिचालन गरेको जनाउँदै साँझसम्ममा सबै विवरण आउने बताए। – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2024
Website | + posts