नेपाल भाषाको पहिलो बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन आइतबार सम्पन्न

नेपाल भाषाको पहिलो बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन आइतबार सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ६ । नेपाल भाषाको पहिलो बायोपिक चलचित्र “इन्दिरा धिमे मैंचा” को छायांकन आइतबार सम्पन्न भएको छ।

नेपालकी प्रथम महिला धिमे तथा नौ बाजावादक भक्तपुरको तचपालमा जन्मेका र हाल भक्तपुर नगरपालिका वडा नं ५ निवासी इन्दिरा लाछिमस्युको जीवनमा आधारित सो बायोपिकको अन्तिम छायांकन आइतबार भक्तपुरको टौमढि परिसरमा सम्पन्न भएको हो।

आगामी दशैँलाई लक्षित गर्दै प्रदर्शनमा आउने सो बायोपिकमा वरिष्ठ वाद्यवादक लाछिमस्युको जीवनका कथाहरु प्रस्तुत हुनेछ।

लाछिमस्यु आफु ११ वर्षको छँदै नेवार समुदायको मौलिक बाजा धिमे बाजा बजाउन सुरू गरेकी हुन्। विसं २०५१ साल तिरको समयमा महिलाहरुले बाजा बजाउन त के बाजागाजा छुन समेत पाइन्दैन भन्ने सामाजिक सोच भएको समाजमा लाछिमस्युले धिमे बाजा सिक्न धेरै संघर्ष गर्नुपर्यो।

उनका बाजे र बुबा दुवै धिमे बाजा र नौ बाजाका गुरूहरु हुन्। आफ्नो घरमा त्यतिबेला बाजा गाजा सिक्न दैनिक जसो एक हुल केटाहरुको टोली आउने गर्थ्यो। बुबा र बाजेले केटाहरुलाई बाजा सिकाइ रहँदा लाछिमस्युलाई पनि सिक्ने खुब रहर जागदथ्यो तर सामाजिक सोचकाका कारण उनले आफ्नो इक्षा भने पूरा गर्न सक्ने अवस्था थिएन।

एकदिन घरमा कोहि नभएको समयमा लाछिमस्युले घरमा रहेको धिमे बाजाहरु बजाउने प्रयत्न गरिन्। त्यतिकैमा उनको घरमा गुरू आए र उक्त बाजाको आवाज सुनेर खुशी भए। माथि आएर हेर्दा उक्त बाजा बजाउने व्यक्ति इन्दिरा लाछिमस्यु पाउँदा गुरू निकै खुशी भए। त्यहाँबाट लाछिमस्युले नौबाजा पनि सिक्ने अवसर पाए र यात्राले निरन्तरता पाउँदै गयो।

इन्दिरा लाछिमस्युले यस मौलिक वाद्यवादनमा करिब ३ दशक देखिको लामो अनुभव गर्दै आएकी छिन्। हजार भन्दा बढि प्रशिक्षार्थीहरुलाई नौबाजा अनि धिमे बाजाको प्रशिक्षण दिसकेकी छिन्। नेपाली मौलिक बाजागाजा, विशेषगरी नौबाजा र धिमे बाजाको संरक्षण र सम्वर्द्वन गर्ने एउटा अभियानमा निरन्तर लागिरहेकी छिन्। नयाँ पुस्तालाई यसको महत्व र प्रशिक्षणमा कुनै कमी नगरी लाछिमस्यु उक्त अभियानमा पनि लाग्दै आएकी छिन्। उपत्यकामा हुने विभिन्न मौलिक बाजागाजाको प्रतियोगितामा निर्णायकको भूमिका पनि खेल्दै आएकी छिन्।

उनको जीवन संघर्ष र कथाहरुलाई लिएर बि.के. फिल्मस्को ब्यानरमा सो बायोपिक प्रदर्शनमा आउन लागेको हो। यस बायोपिकका मुख्य निर्माता गोपाल कृष्ण महर्जन, अर्का निर्माता सुरेन्द्र शाक्य, गोबिन्द महर्जन, सह-निर्माता डा. कृष्ण कुमार श्रेष्ठ, रंजना जोशी, गंगा मानन्धर, संजय शाक्य (कोलोरोडा, अमेरिका), उत्तम प्रधान (जापान) रहेका छन्।

सो चलचित्र सुरेन्द्र तुलाधरको निर्देशनमा बनेको छ जसमा इन्दिरा लाछिमस्युको भूमिकामा कलाकार रोजिना सुवाल, उनका श्रीमान किशोर ढुकुछुको भूमिकामा रुपेन श्रेष्ठ, उनका बुबा पंचलाल लाछिमस्युको भूमिकामा राजाराम भाम, आमा कृष्णमाया लाछिमस्युको भूमिकामा नगिना जोशी, गूरूहरुको भूमिकामा देव चन्द्र बज्राचार्य र लक्ष्मी कुमार महर्जन, ससुराको भूमिकामा मदनकृष्ण श्रेष्ठ, सासुआमाको भूमिकामा विजय लक्ष्मी मानन्धर रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2024
Website | + posts