काठमाडौँमा नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरू

अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल

काठमाडौँमा नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरू : Icon Khabar

काठमाडौं, वैशाख २६ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आजदेखि काठमाडौँमा नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सुरू भएको छ।

आज भएको उद्घाटन सत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

उनले भने,“गरीबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ ।”

यस क्षेत्रका विद्यमान समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक औंल्याउँदै उनले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताए।

साना उद्योगको विकासबाट प्राकृतिक स्रोतको उपयोग, समावेशी र समानुपातिक सहभागितामा मात्र होइन परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नसमेत सघाउ पु¥याउने विश्वास उनले व्यक्त गरे।

उनले स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुँदै सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिन यस्ता उद्यम व्यवसाय बढी फलदायी हुने बताए । यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्ने उनको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि महासंघले पहल गर्दै आएको बिक्री कक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगजस्ता अभियान सकारात्मक रहेको भन्दै यसको कार्यान्वयनमा सरकारको सहयोग रहने बताए।

स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धिका लागि सरकारद्वारा सञ्चालित प्रधानमन्त्री स्वदेशी वस्तु उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलगायत उद्योग प्रवर्द्वनका विभिन्न कार्यक्रम र सोसँग विभिन्न कोषको द्रुततर कार्यान्वयनका लागि पहल गरिने उनको भनाई थियो ।

साना उद्योगहरुले रोजगारी निर्माण गरिरहेको भन्दै यस्ता उद्योगहरुको संरक्षण र प्रवद्र्धन सरकारको प्राथमिकता रहेको बताए। मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताउँदै उनले उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारको अबको लक्ष्य भनेकै देशमै स्वरोजगारीको वातावरण निर्माण गर्ने रहेको भन्दै नेपाली उद्योगका उत्पादनलाई प्रवद्र्धन गर्ने योजना रहेको बताए । वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगार दिन मन्त्रालयले केही नवीन अवधारणा ल्याउने तयारी गरिरहेको उनले बताए । युवालाई स्वरोजगारमा जोड्न सङ्घीय सरकारको नेतृत्वमा रोजगार मेला आयोजना गरिने उनले जानकारी दिए।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेको भएतापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन नसकिरहेको बताए।

उनले नेपालका तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिएको मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजी जस्ता अन्तरक्रिया, छलफल गरिने बताए।

महासंघ अन्तर्गत केन्द्रिय महिला उद्यमी समितिका सभापति रोशनी उपाध्यायले महिलालाई सबल र सक्षम बनाउने तथा महिला सशक्तिकरणको बलियो माध्यम लघु, घरेलु तथा साना उद्योग हुन सक्ने भन्दै राज्यको तर्फबाट महिला उद्यमीहरुको लागि विशेष प्रोत्साहन र सहयोग पुर्याउने खालका कार्यक्रमको तर्जुमा गर्नुपर्नेमा जोड दिईन्।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्धारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृंखला “नेपाल १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१” आइतबारसम्म चल्नेछ ।

मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा “खोजौं नेपाली, रोजौं नेपाली” र “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने रहेको छ ।

यसैगरी नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहेको छ । प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको छ भने दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस्तै सात करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

मेलामा काठ÷ढुङ्गा÷धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरु, वैकल्पिक÷नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्वन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास निर्देशनालय छन् ।

यस्तै प्रवर्द्वनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोजले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2024
Website | + posts