भक्तपुर दरबार क्षेत्रस्थित ३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास

भक्तपुर दरबार क्षेत्रस्थित ३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास : Icon Khabar

भक्तपुर, वैशाख २५ । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सोमबार एक कार्यक्रमबीच भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन्।

उनले भक्तपुर दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन्को विषयलाई निरन्तरता दिँदै लानुपर्नेमा जोड दिँदै पुराना संरचनाहरु बलियो भए पनि धेरै वर्ष पुरानो हुँदा स–साना भूकम्पले पनि क्षति पुर्याउनेतर्फ़ सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने बताए।

भक्तपुरका १०० वर्ष पुराना घरहरु बस्नको लागि सुरक्षित छ वा छैन भन्ने विषयमा प्राविधिकहरुबाट परीक्षण गर्नु खाँचो रहेको बताउँदै उनले सम्पदा पुनःनिर्माणमा मौलिकता संरक्षणमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको बताउँदै उनले दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको र त्यसको उत्खनन् कार्य पनि भएको बताए।

उनले रु. १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको अवगत गराए। त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको जानकारी गराउँदै उनले सरकारले सम्पदा पुनःनिर्माणको लागि सरकारी मूल्यमा काठ आपूर्ति गर्ने व्यवस्था भएमा धेरै सहज हुने बताए।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सृजना सैंजु, नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठ, दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख अरुणा नकर्मी, इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ लगायतले बोलीक थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 May 2024
Website | + posts