बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान संचालन हुँदै

बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान संचालन हुँदै : Icon Khabar

काठमाडौँ, वैशाख २१ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।

आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए।

उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।

सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन ९गाभी०ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

“नियमित रूपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन”, उनले भने, “अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो ।”

नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ ।

दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 May 2024
Website | + posts