आज दिउँसो बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै

आज दिउँसो बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै : Icon Khabar

हेटौँडा, फागुन १३ । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आव्हानमा आज आइतबार दिउँसो बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ ।

बागमती प्रदेश सभा अन्तर्गतका समितिहरूको सभापति चयन, बजेटका सम्बन्ध प्रदेश सरकार र विपक्षी दलबिच भएको सहमति कार्यान्वयनलगायतका विषयमा विवाद कायम रहेकै अवस्थामा सभामुख पाठकले सर्वदलीय बैठक आव्हान गरेका हुन्।

बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले लामो समयदेखि प्रदेश सभामा थाती रहेका विषयहरूमा छलफल गर्न आज दिउँसो २ः०० बजेका लागि सभामुखबाट सवदलीय बैठक बोलाउनुभएकोले बैठकको तयारी भएको जानकारी दिए।

प्रदेश सभा अन्तर्गतका समितिहरूको सभापति चयन, प्रदेश सभाको हिउँदे अधिवेशन सञ्चालनलगायतका विषयमा छलफल गर्न सभामुख पाठकले बैठक बोलाएको प्रवक्ता गुप्ताले बताए।

बागमती प्रदेश सभा गठन भएको १४ महिना पुग्दै लाग्दा अझै पनि प्रदेश सभा अन्तर्गतका समितिहरू नेतृत्वविहीन रहेको छ ।

एक वर्षदेखि थाती रहेको कतिपय विषयमा यसअघि बसेका सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएकोले सहमति जुटाउन पुनः बैठक आव्हान गरिएको हो ।

विपक्षी दलहरूले प्रदेश सभा अन्तर्गतमा समितिहरूको सभापति चयन, प्रदेश सभालाई बिजनेस दिनुपर्ने, प्रदेश सरकारको काम प्रभावकारी नभएको, यसअघि सरकारले बजेट व्यवस्थापनका बारेमा विपक्षी दलहरूसँग गरेको प्रतिबद्धता कार्यान्वयन नगरेको लगायतका विषयमा आन्तरिक रूपमा दलबिच छलफल चल्दै आए पनि सहमति जुट्न सकेको छैन ।

समितिको सभापति चयन, यसअघि सरकारले गरेको प्रतिबद्धता कार्यान्वयनलगायतका विषयमा सरकारको स्पष्ट खाका नै नल्याएको विपक्षी दलहरूको आरोप छ ।

प्रदेश सरकार मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले यही फागुन १५ गते दिउँसो ३ः०० बजेका लागि आव्हान गर्नुभएकोले हिउँदे अधिवेशन सुचारु रूपमा सञ्चालन गर्न सहमति जुटाउनसमेत सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 February 2024
Website | + posts