विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न पाइदैन: विज्ञापन बोर्ड

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न पाइदैन: विज्ञापन बोर्ड : Icon Khabar

काठमाडौँ, माघ १५ । विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ ।

बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरूको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए । उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिक स्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए।

ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयनमा ल्याइएका भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयोग गर्न कलाकार र सञ्चारमाध्यमलाई आग्रह गरे । विज्ञापनमा अभिनय गर्दा लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लील र हिंसालाई प्रोत्साहन गर्ने तथा अफवाह फैलाउने खालका हुन नहुने, राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पुर्‍याउन नहुने तथा कानुनतः निषेध गरिएका वस्तु र सेवाको प्रवर्द्धन गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

ती व्यवस्था पालना नभएमा कानुनी कारबाही हुने भएकाले त्यसप्रति सजग रहन अध्यक्ष हुमागाईँले आग्रह गरे । उनले सरकारले ल्याउने सामाजिक सञ्जाल व्यवस्थापन ऐनमा पनि यस विषयमा उपयुक्त व्यवस्था गराउन आग्रह गरिएको जानकारी दिए । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले जानेर वा नजानेर कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै होर्डिङ बोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने बताए ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विद्यमान ऐन, कानुन र आचारसंहिताको पालनासहित मौलिक र सिर्जनात्मक भई व्यावसायिकतालाई प्रोत्साहन गर्ने गरी विज्ञापनमा कलाकारले अभिनय गर्नुपर्ने बताए । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, गौरी मल्ल, दीपाश्री निरौला, धीरेन शाक्य, रवीन्द्र खड्कालगायत सहभागी थिए । – रासस

Published Date: 29 January 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी