हत्या आरोपित कोइरीलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग

हत्या आरोपित कोइरीलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग : Icon Khabar

काठमाडौँ, माघ ५। हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सभामुखको निर्वाचन प्रक्रियामा सहभागी नगराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सुरक्षाकर्मीको हत्या अभियोगमा फरार रहेका सांसद कोइरीले मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै थप कारबाही अगाडि बढाउन माग गरेका छन् ।

हत्या अभियोगमा फरार सूचीमा रहेका सांसद कोइरी निर्बाध संसद आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । सांसद खतिवडाले सभामुख चयनका लागि हुने मतदानमा कोइरीलाई सहभागी नगराउन समेत सरकारलाई निर्देशन सभाध्यक्ष पशुपति समशेर जबरासँग माग गरेका हुन् । ’अहिले सभामुखको निर्वाचन हुँदैछ । सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीाभित्र छन् भन्ने सुनिन आएको छ’, खतिवडाले भने, ‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले गत पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत समेत दिएका थिए । मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धी मुद्दामा कोइरीलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सो घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसयता उनी फरारको सूचीमा छन् ।

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को काम कारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताएका थिए । तर, कोइरी अझै पक्राउ परेका छैनन् ।

Published Date: 19 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न