हत्या आरोपित कोइरीलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग

हत्या आरोपित कोइरीलाई सभामुखको निर्वाचनमा सहभागी नगराउन माग : Icon Khabar

काठमाडौँ, माघ ५। हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सभामुखको निर्वाचन प्रक्रियामा सहभागी नगराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सुरक्षाकर्मीको हत्या अभियोगमा फरार रहेका सांसद कोइरीले मतदान गर्न नपाउने व्यवस्था गरेर मात्रै थप कारबाही अगाडि बढाउन माग गरेका छन् ।

हत्या अभियोगमा फरार सूचीमा रहेका सांसद कोइरी निर्बाध संसद आउजाउ गर्दा पनि पक्राउ परेका छैनन् । सांसद खतिवडाले सभामुख चयनका लागि हुने मतदानमा कोइरीलाई सहभागी नगराउन समेत सरकारलाई निर्देशन सभाध्यक्ष पशुपति समशेर जबरासँग माग गरेका हुन् । ’अहिले सभामुखको निर्वाचन हुँदैछ । सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसद्हरु पनि यहीाभित्र छन् भन्ने सुनिन आएको छ’, खतिवडाले भने, ‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौं उहाँलाई । यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु ।’

प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित कोइरीले पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले गत पुस २६ मा संघीय संसद्मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत समेत दिएका थिए । मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धी मुद्दामा कोइरीलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । सो घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । त्यसयता उनी फरारको सूचीमा छन् ।

प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणकै दिन प्रहरी प्रधान कार्यालयले संसद् सचिवालयलाई पत्र लेखेर फरारको सूचीमा रहेका कोइरीलाई संसद्को काम कारबाहीमा संलग्न नगराई सहयोग गरिदिन आग्रह गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले फरार सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिइसकेको बताएका थिए । तर, कोइरी अझै पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 January 2023
Website | + posts




ताजा
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
बुधबार नेप्से परिसूचक ४५.३६ अंकले घट्यो
चौधरी ग्रुपले शहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने