युवा संघ र दुर्गा प्रसाई समूहको प्रदर्शन आज : सुरक्षामा १० हजार सुरक्षाकर्मी

युवा संघ र दुर्गा प्रसाई समूहको प्रदर्शन आज : सुरक्षामा १० हजार सुरक्षाकर्मी : Icon Khabar

काठमाडौं, मंसिर ७ । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरे पनि प्रशासनले यो क्षेत्रमा निषेधाज्ञा जारी गरेर प्रदर्शनका लागि फरक–फरक स्थान तोकिदिएको छ । यसअनुसार युवा संघले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्नेछन् ।

युवा संघले सल्लाघारीबाट र प्रसाईं नेतृत्वको समूहले सानो ठिमीस्थित एसओएसबाट जुलुस निकाल्ने तयारी गरेका छन् । युवा संघको जुलुस मोटरसाइकलसहित कोटेश्वर हुँदै च्यासलस्थित पार्टी कार्यालयमा पुग्नेछ । च्यासलबाट बागमती करिडोर हुँदै बिहान साढे १० मा युवा संघको जुलुस तीनकुने पुग्ने गरी रुट तय गरिएको छ ।

दुर्गा प्रसाईं नेतृत्वको समूहको जुलुस सानोठिमीबाट पेप्सीकोला हुँदै मित्रपार्क पुग्ने र भित्री बाटो र चक्रपथ हुँदै बल्खु पुग्ने गरी रुट निर्धारण गरिएको छ । जुलुसको नेतृत्व प्रसाईं र महेश बस्नेतले गर्नेछन् । बस्नेतको गृहजिल्ला भक्तपुर नै हो भने प्रसाईंको पनि भक्तपुरमा घर छ । प्रहरीले आजैदेखि लोकन्थलीस्थित प्रसाईंको घर र गुण्डुस्थित बस्नेतको घर आसपास सुरक्षा सतर्कता बढाएको छ ।

आजको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था विहानैबाट कडा पारिएको छ । काठमाडौँ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको छ ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाडौँ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ ।

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाडाँैका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई आग्रह गरिएको र उच्छृङ्खल गतिविधि गरेमा कानुनअनुसार कारबाही हुने उनले बताए । आजको प्रदर्शनका कारण हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षाको सबै व्यवस्था मिलाइएको पनि उनको भनाइ छ । दुवै पक्षले एक लाख भन्दा धेरै प्रदर्शनकारी ल्याउने घोषणा गरे पनि प्रहरीले बढीमा १५ हजार जना प्रदर्शनकारी आउन सक्ने आंकलन गरेको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल–२०७९’ का नाममा ‘मंसिर ७ नागरिकको साथ’ नाराका साथ प्रसाईंको नेतृत्वमा प्रदर्शन हुन लागेको हो । युवा संघले भने महँगीको विरोधमा प्रदर्शन आयोजना गरेको हो । दुई समूहको फरक–फरक उद्देश्य भए पनि प्रसाईं र बस्नेतको व्यक्तिगत तिक्तताका कारण झडप हुन सक्ने आंकलन गरिएको छ ।

बल्खु र तीनकुनेमा बिहीबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागु गरेको छ । बल्खुमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले प्रदर्शन आयोजना गरेको छ भने एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिने प्रहरीले बताएको छ । प्रदर्शनस्थल र जुलुस आउने बाटोमा १,५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौंमा २,६३७, ललितपुरमा ५६४ र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भएमात्र घरबाट बाहिर निस्कन भनेको छ ।

दुई समूहबीच झडपको सम्भावनालाई मध्यनजर गरेर प्रशासनले फरक–फरक स्थान तोकिदिएको छ । प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेण्टर बनाएको छ । प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौंका एसएसपीले गर्नेछन् । प्रहरीले ड्रोनबाट पनि प्रदर्शनस्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।

Published Date: 23 November 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता