सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर

सिरहामा तीव्र गतिका दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर : Icon Khabar

सिरहा, मंसिर ७ । सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने सन्हैठामा बुधबार साँझ ७ बजे स २ प ४७३१ नम्बरको मोटरसाइकल र प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सिरहाकै अर्नमा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार, १५ वर्षीय युवराज यादव गम्भीर घाइते छन् ।

उनलाई सिरहा प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि राति नै विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ । दुवै मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर ठोक्किएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 November 2023
Website | + posts