चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर नगरको भ्रमणमा

चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर नगरको भ्रमणमा : Icon Khabar

भक्तपुर, मंसिर ३ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङले आइतबार भेट गरेका छन्।

भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमानमा विभिन्न आयामसहित घनिष्ट हुँदै गएको बताउँदै उच्च तहका चिनियाँ प्रतिनिधिमण्डलहरुको नेपाल भ्रमण अत्यन्त स्वागतयोग्य भएको बताए।

नेमकिपा वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी भएको बताउँदै उनले नेमकिपाका जनप्रतिनिधिले देश र जनताको निःस्वार्थ सेवा गरिरहेको जानकारी गराए। भक्तपुर नपाले शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयलाई प्राथमिकता राख्दै काम गरिरहेको बताउँदै उनले भक्तपुर नपाले ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यअनुरुप काम गरिरहेको बताए।

चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख ह्वामिङले भक्तपुरको न्यानो स्वागत र व्यवस्थित अवलोकनको निम्ति धन्यवादज्ञापन गर्दै दुई नगरबीच मैत्रीपूर्ण सहरको सम्बन्ध स्थापित गरी विभिन्न विषयमा सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राखे।

चिङ्काङ्शान चीनको च्याङ्सी प्रान्तको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण नगर भएको बताउँदै उनले पर्यटन र संस्कृतिमा भक्तपुर र चिङ्काङ्शानबीच धेरै विषयमा समानता रहेको बताए । उनले चिङ्काङ्शान चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनगणतन्त्र सुरु गरेको ठाउँ भएको बताए।

टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको दरबार क्षेत्र प्रवेशद्धारमा स्वागत गरेकी थिइन् । सोही क्रममा उनीहरुले भक्तपुरका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । साथै टोलीले भक्तपुर नपाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप अस्पताल, ख्वप कलेज, ख्वप मावि र ख्वप कलेज अफ ल समेतको स्थलगत अवलोकन गरे।

भेटमा चिङ्काङ्शान नगरपालिकाका मुख्य प्रशासक लोङ ल्यानह्वाउ, माओपिङ नगर समितिका पार्टी सचिव लि स्याओफेङ, चिङ्काङ्शान नगर स्वास्थ्य कमिसनका निर्देशक, चिङ्काङ्शानका उपनिर्देशक ऊ जुआनजुआनलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts