विश्वकप : उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै

विश्वकप : उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै : Icon Khabar

काठमाडौँ,  मंसिर ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।

भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । भारत जारी प्रतियोगिताको एक मात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तै अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए । ‘हामीलाई थाहा छ, रंगशाला पूरा भरी हुनेछ । भारतको समर्थनमा एक लाख ३० हजार दर्शक नै मैदानमा उपस्थित हुनेछन् । खेलमा ठूलो दर्शकलाई मौन बनाउनु भन्दा ठूलो सन्तोष अरू हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही हुनेछ’, कुमिन्सले भने ।

भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए । ‘हामी फाइनललाई सहज र शान्त बनाउन चाहन्छौँ । जित हासिल गरे हाम्रो लागि राम्रो हुनेछ । तर, म फाइनलमा धेरै उत्साहित भएर टिममा दबाब थप्न चाहन्न’, रोहितले भने । फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए ।
Published Date: 19 November 2023


ताजा
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न
हुम्लामा भूकम्पको धक्का महसुस
भक्तपुरमा आयोजित योग दिवस कार्यक्रममा टिसर्ट विवाद : पाँचतल्ले मन्दिर ‘चार तल्ला’ बनाइयो


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी