विश्वकप : उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै

विश्वकप : उपाधिको लागि भारत र अष्ट्रेलिया भिड्दै : Icon Khabar

काठमाडौँ,  मंसिर ३ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज (आइतबार) घरेलु टिम भारत र अस्ट्रेलिया भिड्दै छन् । विश्वकपको १३ औं संस्करण चलिरहँदा भारत चौथो पटक फाइनलमा प्रवेश गरेको हो ।

भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । २००३ मा भने भारत फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो । भारत जारी प्रतियोगिताको एक मात्र अपराजित टिम हो । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

यस्तै अस्ट्रेलिया भने आठौँ पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले हालसम्म पाँच पटक उपाधि जितेको छ । अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।

फाइनलअघि अस्ट्रेलियाका कप्तान प्याट कुमिन्सले आफ्नो टिम भारतको ठूलो दर्शकलाई घरमै मौन बनाउने लक्ष्यमा रहेका बताएका थिए । ‘हामीलाई थाहा छ, रंगशाला पूरा भरी हुनेछ । भारतको समर्थनमा एक लाख ३० हजार दर्शक नै मैदानमा उपस्थित हुनेछन् । खेलमा ठूलो दर्शकलाई मौन बनाउनु भन्दा ठूलो सन्तोष अरू हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही हुनेछ’, कुमिन्सले भने ।

भारतका कप्तान रोहित शर्माले फाइनललाई लिएर आफ्नो टिम धेरै उत्साहित र ठूलो दबाबमा नरहेको बताए । ‘हामी फाइनललाई सहज र शान्त बनाउन चाहन्छौँ । जित हासिल गरे हाम्रो लागि राम्रो हुनेछ । तर, म फाइनलमा धेरै उत्साहित भएर टिममा दबाब थप्न चाहन्न’, रोहितले भने । फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 November 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने