धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित सात वटा पसलमा क्षति

धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित सात वटा पसलमा क्षति : Icon Khabar

धनगढी, मंसिर २ । धनगढी बजारमा भीषण आगलागी भएको छ । शुक्रवार राति १ बजेको समयमा धनगढी उपमहानगरपालिका वडा नं. १ मुख्य बजार सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो ।

आगलागीले अस्पतालसहित सात वटा पसलमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक विद्युत् तार सर्ट भई आगलागी भएको र त्यहाँबाट सल्केको आगोले अन्य पसलमा समेत क्षति गरेको चन्दले जानकारी दिए।

राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए।

घटनामा मानवीय क्षति नभए पनि अन्य धेरै पसलहरू जलेर नष्ट भएकोले क्षतिको धेरै भएको हुन सक्ने पूर्ण विवरण आइसकेको छैन । व्यापारीहरूले क्षतिको बारे जानकारी दिई नसकेकोले कति क्षति भयो भन्ने बारे अहिले यकिन नभएको चन्दले जानकारी दिए।

आगलागीमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम), टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेबी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगत् बहादुर बलायरले सञ्चालन गरेको सुशिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम), शोदा साउदले सञ्चालन गरेको न्यु सदिच्छा इन्टरप्राइजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम), गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथि अस्पताल कैलाली, , जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस) गरी आठ ओटा पसलमा पूर्ण क्षति भएको चन्दले बताए ।

Published Date: 18 November 2023
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता