कार्तिकमा २४ हजार चार सय नौ पर्यटकद्वारा अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण

कार्तिकमा २४ हजार चार सय नौ पर्यटकद्वारा अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण : Icon Khabar

गण्डकी, मंसिर २ । कार्तिक महिनामा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेका छन् । वैशाखमा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात सय पाँच पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । सबैभन्दा कम साउनमा पाँच हजार चास सय एक पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको ‘एक्याप’ प्रमुख डा कडरियाले बताए ।

गत वैशाखदेखि कात्तिकसम्ममा एक लाख २५ हजार पाँच सय ३४ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ९५ हजार नौ सय ११ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको उनले बताए।

अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भन्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको प्रमुख डा कडरियाले बताए ।

उनका अनुसार दसैँ र तिहारको बिचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 November 2023
Website | + posts