इजरायलको ‘स्थल सेना’ ले गर्‍यो गाजामा रात्रिकालीन आक्रमण

इजरायलको ‘स्थल सेना’ ले गर्‍यो गाजामा रात्रिकालीन आक्रमण : Icon Khabar

जेरुसेलम, कात्तिक १० । स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ ।

“पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ”, सेनाले एक विज्ञप्तिमा भनेको छ, “आईडीएफले एन्टी–ट्याङ्क मिसाइल प्रक्षेपण स्थलहरू, सैन्य कमान्ड र नियन्त्रण केन्द्रहरूका साथै हमासका आतङ्कवादीलगायत कयौँ आतङ्कवादी लक्ष्यहरू पहिचान गरी प्रहार गरेको छ, कारवाहीको अन्त्यमा सेना उक्त क्षेत्रबाट बाहिर निस्केको छ ।”

सेनाले जारी गरेको श्यामश्वेत फुटेजमा बख्तरबन्द सवारीको एउटा समूह देखिन्छ जसमा आक्रमणपछि आकाशमा धुलोको बाक्लो बादल उडेको थियो । सेनाले अघिल्लो रात पनि प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा ट्याङ्क र स्थल सेनामार्फत यस्तै प्रकारको स्थल अभियान सञ्चालन गरेको थियो ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यसै साताको सुरुमा इजराइलले ‘स्थल आक्रमणको तयारी गरिरहेको’ दोहोर्याएपछि पछिल्लो आक्रमण भएको हो ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमास बन्दुकधारीहरूको भीडले इजराइलमा घुसपैठ गरी एकहजार चार सय मानिसलाई मारेको थियो । मारिनेहरूमा अधिकांश सर्वसाधारण थिए । त्यस्तै हमासले दुई सय २४ भन्दा बढीलाई बन्धक बनाएको छ ।

इजराइलको जवाफी हवाई तथा तोप आक्रमणमा गाजापट्टीमा दुई हजार नौ सय १३ बालबालिकासहित कम्तीमा सात हजार २८ मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

सन् २००५ मा प्यालेस्टिनी क्षेत्रबाट एकतर्फीरूपमा इजराइल फिर्ता भएपछि गाजामा मारिनेको सङ्ख्या यो सबैभन्दा बढी हो । रासस/एएफपी

Published Date: 27 October 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता