उपाधि जित्न युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

उपाधि जित्न युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।

आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।

तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए ।

रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए ।

१३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो ।

जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे ।

तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन ।

युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।

Published Date: 27 October 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता