उपाधि जित्न युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

उपाधि जित्न युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईलाई उपाधि जित्न १ सय ६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । नेपालका ओपनर कुशल भुर्तेल २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । उनको यो टि२० आई करिअरको छैटौं अर्धशतक हो । दोस्रो ओभरको दोस्रो बलमा ब्यक्तिगत पाँच रनमा जीवनदान पाएका उनले अर्धशतक प्रहार गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आयन खानले पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।

आयन खान तीन दिनअघि मलेसियामा नेपालसँग यू१९ प्रिमियर कपको फाइनलमा युएईको कप्तानी गरेका थिए । पहिलो खेल खेलेका उनले पहिलो ओभरमै नेपालका ओपनर आसिफको विकेट लिएका थिए । आयनले सातौं ओभरको चौथो बलमा कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरे ।

तीव्र गतिका बलर जहुर खानको आठौं ओभरको तेस्रो बलमा कुशल भुर्तेल बोल्ड आउट भएका हुन् । १३ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल प्याडल सर्ट खेल्ने धुनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भए ।

रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए । तीन बलपछि दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । दीपेन्द्रले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । इनस्वींग बल चाल पाउन नसक्दा दीपेन्द्र बोल्ड आउट भएका थिए ।

१३ औं ओभर युएई खेलमा फर्किने टर्निङ प्वान्ट बनेको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । थप २४ बलमा नेपालले दीपेन्द्र र रोहितको विकेट गुमाउँदा मात्रै १९ रन जोडेको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमायो ।

जहुर खानको १६ औं ओभरको पहिलो बलमा चोभार एन्डमा लङअनमा सर्ट खेल्न खोजेका सन्दीप जोरा मिडअनमा मोहम्मद वासिमबाट १० रनमा क्याच आउट भए । आयनले सोमपाल कामीलाई १३ रनमा बोल्ड आउट गरे ।

तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए । अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन ।

युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2023
Website | + posts