१९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत विजेता एरिकालाई वैद्यको सम्मान

१९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत विजेता एरिकालाई वैद्यको सम्मान : Icon Khabar

काठमाडौं, असोज २९ । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार २ लाख नगदसहित सम्मान गरेका छन् ।

चीनको हाङझावमा भएको एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्यले हाङझाव एसियाडमा कारते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । पूर्व घोषणा बमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।

एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले करातेमा पहिलोपटक रजत पदक जितेको हो । हाङझाव एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो ।

एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । त्यसअघि क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

एसियाडको इतिहासमा एरिकाकोसहित नेपालको समग्रमा तेस्रो रजत हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जितेकी थिइन् । त्यस्तै इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । एसियाडको कारतेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले कांस्य जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गरे । सो अवसरमा एसियाडको करातेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा सदस्य–सचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको बताउदै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता जनाए ।

‘आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नु पर्छ । एसियाडमा रजत जित्ने खेलाडीलाई कानूनमा व्यवस्था भए बमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनु हुनेछ ।’ सदस्य–सचिव घिसिङले भने– ‘पुरस्कारले खेलाडीलाई उर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई उर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महशुस गर्नु पर्छ ।’

सांसद महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुशी तुल्याएको धारणा व्यक्त गरे । कराते महासंघका अध्यक्ष लामाले यदि थप सफलता हासिल गर्ने हो भने २० औं एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नु पर्नेमा जोड दिए ।

ऐतिहासिक रजत विजेता १९ वर्षीया एरिकाले सम्मानित भएपछि भनिन्– ‘मैलै जितेको पदक मेरो भन्दा पनि पहिले राष्ट्रको हो । राष्ट्रिय खेलकुद परिषद्को हो । नेपाल कराते महासंघको हो । सारा नेपालीको हो । मेरो टिमको हो । अनि त्यसपछि मात्र मेरो पदक हो । सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद् र कराते महासंघलाई धन्यवाद । सम्मानले थप खुशी बनाएको छ । आगामी दिनमा अझ सफलता हात पार्न प्रेरित गरेको छ ।’ एरिकाले व्यवस्थापक वैद्यको सहयोगको पनि खुलेरै प्रशंसा गरिन् ।

वैद्यले एरिकाको सफलताले नयाँ खेलाडीलाई पनि खेलमा लाग्न अभिप्रेरित गर्ने बताउदै नेपाली खेलाडीले पनि अवसर पाए सफलता हासिल गर्न सक्छन् भन्ने उदहारण एरिकाले प्रस्तुत गरेको बताए ।

Published Date: 16 October 2023


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न