नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री डा. महत

नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री डा. महत : Icon Khabar

काठमाडौं, असोज २८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्न सक्ने बताएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताएका हुन् ।

“हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ । हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उहाँहरु पनि सहमत हुनुहुन्छ”, मन्त्री डा. महतले भने । दातृ निकाय र विकास साझेदारहरुले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ ।

चालु पुँजी कर्जा मार्गदर्शनलगायत व्यवस्थामा आइएमएफ हाबी भएको निजी क्षेत्रको बुझाइ छ । तर अर्थमन्त्री महतले भने कुनै पनि निर्णय नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र सर्त कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पारे ।सहुलियतपूर्ण कर्जाका लागि विश्व बैंक र आइएमएफको संयुक्त वार्षिक बैठकमा नेपालले आफ्ना आधार प्रस्तुत गरेको अर्थमन्त्री महतको भनाइ छ ।

त्यस्तै, गरिबी निवारणका क्षेत्रमा लगानी गर्ने र नयाँ खालका वित्तीय लगानीका उपकरण पहिचान गरेर लगानी गर्नेबारे छलफल भएको उनले बताए । माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले लगानी गर्न चाहेकोमा त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको जनाइएको छ ।

अर्थतन्त्री महतले नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निर्णय लिन सक्ने पनि बर्ताए । केही दिनअघिमात्र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक अवस्था सुधारका लागि सरकारले उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताएका थिए। यस्तो संयन्त्रबारे सरकारले कसरी तयारी गरिरहेको छ ? भन्ने प्रश्नमा अर्थमन्त्री महतले अवस्था र परिवेश हेरेर निर्णय दिने बताए।

त्यस्तै, अर्थतन्त्रमा अहिले देखिएको समस्या तत्काल देखिएको नभई लामो समय देखिका समस्या थपिँदै गएर यस्तो अवस्थामा पुगेको अर्थमन्त्री महतको भनाइ छ ।“अहिले देखिएका समस्या तत्काल सिर्जित होइनन् र यी समस्या एकै झट्कामा समाधान पनि हुँदैन । क्रमशः सुधारका प्रयासका नतिजा देखिँदै गएका छन् ।

आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको छ”, अर्थमन्त्री डा. महतले भने ।अर्थमन्त्री विश्व बैंकको र नेपाल राष्ट्र बैंकका गभर्नर आइएमएफको पदेन गभर्नर रहने व्यवस्था छ । यी बैठकमा वर्षभरिको कार्य सम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल भएको छ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग