छपाइका लागि आवश्यक कार्ड नहुँदा लाइसेन्स छपाइ रोकियो

छपाइका लागि आवश्यक कार्ड नहुँदा लाइसेन्स छपाइ रोकियो : Icon Khabar

काठमाडौँ, असोज २२ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ ।

अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए।

अहिले आकस्मिक रुपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ । नियमित रुपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको सङ्ख्या भने बढीरहेको छ । थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरुले बताए।

अहिले खरिद गरिएका कार्ड पहिलो पटक छ लाख आउन लागेका बताइएको छ । त्यसपछि दोस्रो पटकमा पनि छ लाख खरिदका लागि प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । सरकारले नागरिकलाई सजिलो रुपमा सेवा दिन ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेको भए पनि सेवा व्यवस्थित बनाउन नसक्दा पटक पटक नागरिकले दुःख पाइरहेका छन् । कहिले आवश्यक उपकरण वा सामग्री खरिदका कारण त कहिले व्यवस्थापनका कारण नागरिकले समयमा अनुमतिपत्र पाउन सकेका छैनन् ।

एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि परियोजनाअन्तर्गत भएको सम्झौताका आधारमा चार प्रिन्टर र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो । अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समयसमयमा समस्या आइरहेको सेवाग्राही बताउँछन् । लामो समय रोकिएर एकैपटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ ।

एक स्थानीय तहभित्रको यातायात व्यवस्थापनको जिम्मेवारी पालिका, दुई वा त्योभन्दा बढी पालिकामा भए प्रदेश र अन्तरप्रदेश चल्ने सवारीसाधन र यातायात व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ । फरक सरकारबीच समन्वय नहुँदा पनि समय समयमा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । सङ्घीय सरकारले ढिलाइ गरेको भन्दै कतिपय प्रदेशले आफैँ अनुमतिपत्र छाप्न उपकरण खरिदको योजना बनाउन थालेका छन् । – रासस

Published Date: 09 October 2023


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली