मुस्ताङको कागखोलालाई पुरानै धारमा फर्काइयो

मुस्ताङको कागखोलालाई पुरानै धारमा फर्काइयो : Icon Khabar

म्याग्दी, भदौ २५ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुरानै धारमा फर्काइएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुरानै धारमा फर्काएर बगाइएको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।

‘करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिकरूपमा बगेको धारमा फर्काइएको छ,’ उनले भने, ‘क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएका छौं ।’ बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिएको अध्यक्ष गुरुङले बताए ।

खोला वारपार गर्न काठको प्रयोग गरेर अस्थायी पुल बनाइएको छ । बस्तीमा पसेको बाढीलाई पन्छाउन डोजर परिचालन गरिएको छ । घरभित्र पसेको लेदो फाल्ने र सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको स्थानीयवासी धारा गुरुङले बताए ।

स्थानीयवासीहरूले श्रमदान गरेर कागबेनीदेखि तिरी गाउँ जाने बाटोमा कालीगण्डकी नदीमाथि काठको पुल बनाइएको छ । पुल बनेपछि तिरीका ३० भन्दा बढी घरधुरीलाई कागबेनी आवतजावत गर्न चार घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको छ । कागखोलामै अस्थायी काठको पुल बनाएर जोमसोम–कोरला सडकमा साना सवारी साधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । जोमसोम–कोरला सडकमा यातायात सञ्चालन भएको छ ।

भवनमा बाढी पसेपछि बन्द भएको कागबेनीको जनशान्ति माविको पठनपाठन दश दिनपछि सञ्चालन आइसकेको शिक्षक मनवीर किसानले बताए । खानेपानी र विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ । कागबेनीको बाढी व्यवस्थापन गर्न छिमेकी गाउँपालिका, स्थानीयवासी, सुरक्षा निकायले सघाएका गाउँपालिका अध्यक्ष गुरुङले बताए ।

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ । नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण सङ्कलन गरिएको थियो ।

व्यक्तिका ५० वटा घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । उक्त बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ । नौवटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया पनि मरेका छन् ।

Published Date: 11 September 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न