सम्पदाको ऐतिहासिक विवरणसमेत अभिलेख गरी संरक्षण गर्नुपर्छ: प्रेम सुवाल

सम्पदाको ऐतिहासिक विवरणसमेत अभिलेख गरी संरक्षण गर्नुपर्छ: प्रेम सुवाल : Icon Khabar

भक्तपुर, भदौ २३ । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजनामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार चोछेँस्थित लामो पाटी (ताहा फल्चा) को उद्घाटन कार्यक्रम भएको छ ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मोहीयानी हक प्राप्तिको लागि पार्टीले सङ्घर्ष गरेको उल्लेख गर्दै बाँकी गुठी जग्गा रैतानी गर्न पाउने कानुनी व्यवस्था गरी राहत दिनुपर्ने आवश्यकता औल्याए ।

युवाहरूलाई वैदेशिक रोजगारीको नाउँमा सस्तो ज्यामी बन्न बाध्य नहुने गरी स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले समुदायमा आधारित नभएको सहकारी संस्थाहरूले सर्वसाधारणको बचत ठगी गरेको हुँदा सबै सचेत हुनु जरुरी भएको बताए ।

घर–घरबाट कुहिने नकुहिने छुट्याई फोहर सङ्कलन कार्यमा सहयोग गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरणमा सिंहदरबारको बारम्बार नेतृत्व गर्ने शासक दलहरू नै दोषी रहेको उल्लेख गरे । सम्पदाको ऐतिहासिक विवरणसमेत अभिलेख गरी संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षक जगन्नाथ सुजखूले स्थानीय उपभोक्ता समितिमार्फत पारदर्शीरूपमा विकास निर्माण कार्य भइरहेको औँल्याउँदै स्थानीय वडावासीहरूको सहयोगी भावना जगाइराख्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले भक्तपुर नपाले विभिन्न स्वास्थ्य शिविर कार्यक्रम तथा रोजगारीमूलक तालिमहरू दिइरहेको जानकारी गराउँदै ख्वप अस्पतालमा रोग विशेषज्ञहरूको सेवा सुविधा विस्तार गरिरहेको बताईन्।

चोछेँ लामो पाटी निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण दुवालले खर्च विवरण प्रस्तुत गर्दै भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा पुनः निर्माणप्रति आभार प्रकट गरेका थिए ।

भनपा ६ का वडाध्यक्ष हरिराम सुवालले यस वर्षको वडाका विभिन्न विकास निर्माण गर्नुपर्ने कार्यहरूको जानकारी दिँदै यस वर्ष भनपा बजेटबाट अरनिको सभाभवन निर्माण कार्य सुरु गर्ने समेत जानकारी दिए ।

कार्यक्रममा वडा सचिव बुद्धिप्रसाद दुवालले पनि आफ्नो विचार राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2023
Website | + posts