एसिया कप क्रिकेट आजदेखि : नेपाल पहिलो वरियताको पाकिस्तानसँग उदघाटन खेल खेल्दै

एसिया कप क्रिकेट आजदेखि : नेपाल पहिलो वरियताको पाकिस्तानसँग उदघाटन खेल खेल्दै : Icon Khabar

काठमाडौं, भदौ १३ । एसिया कप क्रिकेट आज (बुधबार) देखि शुरु हुँदैछ । उदघाटन खेल नेपालले पहिलो वरियताको पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर–१ टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रनेछ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजमले गर्नेछन् ।

नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । तर, पाकिस्तानले भने दुई पटक एसिया कपको उपाधि जितिसकेको छ । मुल्तान मैदान ३० हजार दर्शक क्षमताको रहेको छ । आजका सबै टिकट बुकिङ भइसकेका छन् । पाकिस्तान आईसीसी एक दिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औं स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलंकामा खेल्ने छ।

एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलंका जानेछ । भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु ९ खेल श्रीलंकामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल पनि नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ ।

नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
यस्तो छ नेपालको सम्भावित प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर) भीम सार्की, रोहित कुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ–११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

Published Date: 30 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु