किन दुख्छ पेट ? विभिन्न कारणहरु थाहा पाउनुहोस

किन दुख्छ पेट ? विभिन्न कारणहरु थाहा पाउनुहोस : Icon Khabar

काठमाडौँ, भदौ ११ । हामीकहाँ एउटा भनाइ निकै प्रचलित छ, ‘ग्यास्ट्रिक त नेपालीको पहिचान नै हो ।’ यसैबाट थाहा हुन्छ, नेपालमा ग्यास्ट्रिक (ग्यास्ट्राइटिस) हुनुलाई गम्भीर रुपमा लिइँदैन । पेटको दुखाइलाई सकेसम्म दबाउन खोजिन्छ । तर, पेट दुख्ने र ग्यास्ट्राइटिसको समस्यालाई यति हलुका रुपमा लिनु हुँदैन । यस्ता समस्यामा लापरबाही गर्नै हुँदैन । पेट दुख्नु कहिलेकाहीँ गम्भीर प्रकृतिका रोगको लक्षण पनि हुन सक्छ । पेट दुख्नुका पछाडि धेरै कारण हुन्छन् । स्वास्थ्यका दृष्टिकोणले पेट दुख्ने कारण कुनै सामान्य हुन्छन् भने कुनै जटिल । पेटलाई सामान्यतया तीन भागमा विभाजन गर्न सकिन्छ ।

१. माथिल्लो भाग (एपी ग्यास्ट्रिक र राइट एन्ड लेफ्ट हाइपोकोन्ड्रियाक रिजन)

पेटको माथिल्लो भागमा विशेषगरी ग्यास्ट्राइटिसको समस्याका कारण दुख्ने गर्छ । नेपालमा धेरैजसो मानिसलाई एपी ग्यास्ट्राइटिसको समस्या हुने गरेको पाइन्छ। त्यस्तै, राइट हाइपोकोन्ड्रिया (आरएचसी) का कारण पनि केहीलाई पेट दुख्छ । यो चाहिँ माथिल्लो भागको दाहिने पट्टि दुख्ने समस्या हो।

२. मध्य भाग (पेरिओम्लाइकल र लेफ्ट एन्ड राइट लुम्बर रिजन)

नाइटोको वरिपरिको भागलाई मध्यभाग अर्थात् पेरिओम्लाइकल भनिन्छ । नाइटोको वरिपरि हुने दुखाइलाई नै ‘पेरिओम्लाइकल पेन’ भनेर बुझिन्छ।

३. तल्लो भाग (हाइपोग्यास्ट्रिक र लेफ्ट एन्ड राइट इलियाक रिजन)

तल्लो पेटको दुखाइ चाहिँ पेटभन्दा पनि मुत्रनलीको समस्यासँग सम्बन्धित हुने गर्छ । यो समस्या गाइनोकोलोजीसँग बढी सम्बन्धित हुन्छ ।

पेट दुख्नुका कारण

१. ग्यास्ट्राइटिस

खानेनली, पेट र सानो आन्द्राको कुनै भागमा घाउहरु हुनु अथवा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिकको समस्या हुने अधिकांश नेपालीमा यी र यस्तै कारणले पेट दुख्ने हुन्छ । खानाको समय नमिल्दा र धूमपान तथा मध्यपानको अत्याधिक प्रयोगले ग्यास्ट्राइटिस गराउँछ । पेटमा भएको एसिड माथि आउने क्रमलाई भने ग्यास्ट्रो इसोफ्याजियल रिप्mलेक्स डिजिज (जिइआरडी) भनिन्छ । यसले मुटु पोल्ने, पेट पोल्ने, छाती पोल्ने, अमिलो पानी मुखमा आउने, पटक–पटक डकार आइरहने हुन्छ । जिइआरडी धेरैजसो मोटो व्यक्तिमा, खानामा धेरै चिल्लो परिकार खाने, व्यायाम नगर्ने, धूमपान र मध्यपान सेवन गर्नेहरुमा बढी देखिन्छ । त्यस्तै धेरै तनाव लिने व्यक्तिमा पनि यो समस्या आउँछ । पेटमा भएको एसिड तथा खाएको खानेकुरा अलिकति मात्र माथि आउँदा खानेनलीको भित्री छालामा चोट पुग्छ । जसले गर्दा छाती पोल्ने, मुटु पोल्ने, अमिलो पानी र डकार आउने हुन्छ । जिइआरडीको समस्यालाई पनि ग्यास्ट्राइटिस भएको ठानेर आफूखुसी औषधि खाँदा सानो आन्द्रामा घाउ हुन सक्छ ।

२. पित्तथैलीमा स्टोन

कहिलेकाहीँ पित्तथैलीमा स्टोन भएमा पनि पेट दुख्छ । पित्तथैलीमा स्टोन हुँदा पित्तको थैली सुनिन्छ र पेट दुखेजस्तो हुन्छ । यसलाई मेडिकल भाषामा कोलिस्टाइटिस (एक्युट कोलिसिस्टाइटिस) भनिन्छ । यो समस्या पटक–पटक दोहोरिएमा क्रोनिक कोलिसिस्टाइटिस हुन सक्छ । दुखाइको प्रकृति हेर्दा ग्यास्ट्राइटिसले पेट दुखेजस्तो हुन्छ तर पित्तथैलीको कारण पेट दुखिरहेको हुन सक्छ । पित्तथैलीबाट सानो आन्द्रामा एउटा नली जान्छ (कमन वाइल डक्ट) र उक्त नलीमा सानो ढुंगा अड्किँदा पनि पित्तथैलीमा समस्या आउँछ र माथिल्लो पेट दुख्छ । यो समस्या भएकाहरुलाई माथिल्लो पेटको दायाँ भाग एक्कासी दुख्ने र तुरुन्तै दुखाइ कम हुने गर्छ ।

३. प्यान्क्रियाटाइटिस

हाम्रो पेटमा प्यान्क्रियाज भन्ने अंग हुन्छ । जसलाई अग्नाशय भन्ने गरिन्छ । अग्नाशय पेटको पछाडीको भित्रको भागमा हुन्छ । यसको पनि खाना पचाउने नलीहरु सानो अन्द्रामा बगेको हुन्छ । कहिलेकाहीँ पित्तथैलीमा भएको स्टोनले प्यान्क्रियाजबाट आउने तत्व र पित्तथैलीबाट आउने ‘बाइलजुस’लाई अवरुद्ध गरिदिन्छ । यसका कारण प्यान्क्रियाटाइटिस हुने गर्छ । अग्नाशय सुन्निनु प्यान्क्रियाटाइटिस हो । अत्याधिक मात्रामा मध्यपान र धूमपान गर्ने मानिसलाई प्यान्क्रियाटाइटिस हुने गर्छ।

४. सानो आन्द्रामा संक्रमण

सानो आन्द्रामा संक्रमण भएमा मध्य भाग अर्थात् नाइटोको वरिपरि दुख्ने गर्छ । यो समस्या खानपिनको गडबडी, फुड पोइजनिङ भएपछि देखापर्छ । सानो आन्द्राको संक्रमणकै कारण झाडापखाला लाग्ने हुन्छ । सानो आन्द्राको दुखाइलाई ‘पेरिओम्लाइकल पेन’ भनिन्छ ।

५. अल्सर

अल्सरलाई ग्यास्ट्रिक अल्सर (आमाशयमा हुने) र डुयोर्नल अल्सर (आन्द्राको पहिलो भागमा घाउ) गरी दुई रुपमा छुट्याइको हुन्छ । अल्सर विशेषगरी हेलिकोब्याक्टर पाइलोरी (एच पाइलोरी) नामक किटाणुका कारण हुन्छ ।यो ब्याक्टेरियाले आमाशयमा घर बनाएर बसेको हुन्छ । एक अध्ययनका अनुसार नेपालमा अल्सर भएका हरेक १० जना मध्ये ६ जनामा यो किटाणुको संक्रमण देखिन्छ । यो किटाणुको समयमै पहिचान हुन सक्यो भने उपचारपछि सजिलै निको हुन्छ । समयमै पहिचान गरिएन र लापरबाही गरियो भने ब्याक्टेरियाको संक्रमणका कारण पेटको क्यान्सरसम्म हुन सक्छ ।

६. दुखाइ कम गर्ने औषधिको असर

दुखाइ कम गर्न प्रायः मानिसले फार्मेसीमा सहजै उपलब्ध हुने ब्रुफिन, एस्पिरिनजस्ता ‘पेन किलर’को प्रयोग गर्छन् । तर, यस्ता औषधिको प्रयोगले पेटमा ठूलै समस्या ल्याउन सक्छ । दुखाइ कम गर्ने औषधीले सानो आन्द्रामा घाउ बनाउने र पेटभित्र समस्या ल्याउने काम गर्छ । मुटुको रोगीले लामो समयसम्म प्रयोग गर्ने रगत पातलो बनाउने औषधी ‘एस्पिरिन’को प्रयोगले पनि पेटमा अल्सर बनाउन सक्छ ।

७. धूमपान र मध्यपान

धूमपान र मध्यपानको अत्याधिक प्रयोग गर्नाले पेटमा ग्यास्ट्राइटिस र प्यान्क्रियाटाइटिस हुन सक्छ । धूमपान र मध्यपानले लिभर र प्यान्क्रियाज दुवैमा प्रत्यक्ष असर गर्छ । रक्सी सेवन गर्ने अधिकांशमा ‘यक्युट प्यान्क्रियाटाइटिस’ हुन सक्छ । यस्तै, लिभरमा हेपाटाइटिस भएमा, किड्नीमा स्टोन अथवा युरेटेरिक स्टोन भएमा, कोलिटिज (ठूलो आन्द्राको सुजन) भएमा, क्रोनिक कन्स्टिपेसन (कब्जियत) भएमा पनि पेट दुख्ने समस्या आउँछ ।

पेट दुखाइबाट बच्ने उपाए

१. खानेकुरामा सावधानी अपनाउने । धेरै चिल्लो पदार्थ नखाने । तारेको, भुटेको परिकारहरु कम खाने । खानामा हरियो सागसब्जी, फलपूmल बढी खाने।

२. समय मिलाएर खाना खाने।

३. एकै पटक धेरै खाना नखाने, समय मिलाएर पटक–पटक खाने बानी बसाल्ने।

४. दुखाइ कम गर्ने औषधिको प्रयोग नगर्ने । चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने।

५. खाना खाने बित्तिकै नसुत्ने । कम्तिमा खाना खाएको दुई घण्टापछि मात्र सुत्ने।

६. पेट दुखाइ बढेमा विशेषज्ञ चिकित्सकको परामर्श लिने।

Published Date: 28 August 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता