माओवादी केन्द्रको बैठक आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिंदै

माओवादी केन्द्रको बैठक आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिंदै : Icon Khabar

काठमाडौं, साउन २१ । सत्तारुढ नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति वैठक आज (आइतबार) सकिने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै केन्द्रीय सदस्य र पदाधिकारीको आज (आइतबार) एकमुष्ट जवाफ दिने भएका छन् । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा चार दिनसम्म २२१ जना नेताले आफ्ना धारणा राखेका छन् ।

आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले आइतबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने जानकारी दिएका छन् । पार्टी अध्यक्ष प्रचण्ड आफैले चार दिनसम्म नेताहरूले राखेको धारणा एक–एक गरी कापीमा टिपोट गरेका छन् । धैर्यसाथ सुन्दै उनले सबैको महत्वपूर्ण सुझाव, आलोचना र टिप्पणी संकलन गरेका छन् । केन्द्रीय सदस्यहरूले राखेका धारणा प्रधानमन्त्रीको सचिवालयले समेत संकलन गरेको छ । पार्टीका उपमहासचिव वर्षमान पुनले केन्द्रीय सदस्यहरूले राखेको धारणालाई राजनीतिक दस्तावेजमा समेटिने बताएका छन् ।

‘सदस्यहरूले बोलेका विषयलाई राजनीतिक प्रतिवेदनमा संशोधन गरेर समेटिने छ’, उनले भने, ‘यो प्रतिवेदनसाथ तीन महिने राजनीतिक अभियान लिएर जनतामा जाने छौँ । त्यसपछिको अभियान सकिएलगत्तै विधान सम्मेलन गरेर पार्टीलाई विधान र विधिमा चलाउने छौं ।’

उनले पार्टी र नेता विधान अनुसार सञ्चालन हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जति पनि प्रश्न उठेका छन्, त्यसको सकारात्मक रूपमा लिएको बताए । उनले भने, ‘बैठकमा उठेका प्रश्नको अध्यक्षसहित हामी सबैले सकारात्मक रूपमा लिएका छौं । यसलाई पार्टी रूपान्तरणका अवसरका रूपमा लिएका छौं । यसलाई सकारात्मक ऊर्जाका रूपमा लिएर जनतामा जाने राम्रो वातावरण बनाउने छौं ।’ बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

Published Date: 06 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु