विद्यालय तहबाटै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरुरी छ : प्रधानमन्त्री दाहाल

विद्यालय तहबाटै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरुरी छ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, साउन ५ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदले शुक्रबार आयोजना गरेको ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्रियामा दाहालले विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानी बारे जानकारी आवश्यक रहेको बताए ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले देश र जनता एवं स्वयं आफ्नो व्यक्तिगत जीवनलाई कसरी प्रविधिमैत्री बनाउने लगायत विषयमा पर्याप्त ज्ञान हुनुपर्ने बताए । पर्याप्त ज्ञान बिना साइबर प्रविधिको प्रयोग र यसमार्फत पैदा भएका चुनौतीसमेत सामना गर्न नसकिने भन्दै उनले भने, ‘तसर्थ विद्यालय तहबाट नै पाठ्यक्रममा डिजिटल साक्षरताको व्यवस्था गर्नेतर्फ समेत हाम्रो ध्यान केन्द्रित हुन आवश्यक छ ।’ सूचना प्रविधिको प्रयोग आम नागरिकको दैनिकी बनिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आधुनिकीकरण, विश्वव्यापीकरण र नेटवर्कमा आधारित कम्प्युटर सञ्जालीकरणले राष्ट्रिय सुरक्षाको गहनता, चासो र क्षेत्र दिन प्रतिदिन फराकिलो बन्दै गएको बताए ।

’राष्ट्रिय सुरक्षा आन्तरिक रुपमा शान्ति सुरक्षा अमनचयन, नागरिक सुरक्षा र बाहृय रुपमा देशको भौगोलिक सीमा सुरक्षासाग प्रत्यक्षरुपमा जोडिएको विषय हो’, उनले भने, ’राज्य केन्द्रित सुरक्षा अहिले नागरिक केन्द्रित बन्दै गएपछि सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता र भौगोलिक अखण्डता सँगसँगै राष्ट्रिय सूचना र नागरिक सुरक्षाका विषय पनि महत्वपूर्ण बनेका छन् ।’

डिजिटल आक्रमण, साइबर अपराधले गर्दा राष्ट्रिय सूचनाको संरक्षण, तथा व्यक्तिगत गोपनीयताको संरक्षणमा जटिलता बढ्दै गएको भन्दै दाहालले यसबाट राष्ट्रिय सुरक्षा र अपराध अनुसन्धानलगायतका संवेदनशील विषयमा पनि चुनौती थपिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts